-राजेन्द्र शर्मा/धरान
चैतको घाम निकै पारिलो झुल्किइसकेको थियो हामीले सर्दूखोलो तर्ने बेलामा । बिहानको यस्तै ७ बजेको हुँदो हो– हामी छरछिमेकी निकैजना मिलेर शूलीकोटमा लागिरहेको कोटीहोममा भाग लिन जाँदै थियौं त्यो दिन । अहिले निकै लोकप्रिय ठाउँ भएको छ चिण्डेडाँडो’ तर त्यतिबेला त्यसको केही नाम थियो जस्तो लाग्दैन । पहिलो एउटा उकालो सकिएपछि अलिकति करिम–करिम परेको गोरेटो आयो । दाहिने पटि निकै अग्लो भीर र देब्रेपछि गहिरो खोँच परेको भूबनोट कटे पछि जङ्गल सुरु भयो । अरु वनस्पतिको खासै ख्याल गरिएन तर जङ्गलमा फुलेका लाली गुराँसले हामीलाई लोभ्यायो । हामीमध्ये निकै छरिती थिइन् लोचन भट्टराई, उनी रुख चढिन् र २–४ थुङ्गा गुराँस टिपेर आइन् । हामी उकालो जाँदै गर्दा देखिएको अनौठो वस्तु थियो एउटा उभ्याइएको ठूलो भाला । हामीले सुनेका मात्र थियौँ आज प्रत्यक्ष देख्न पाइयो – त्यस्तो पो हुँदोरहेछ शूली त । अनि शूलीकोटको कथा भने यस्तो रहेछ ।
वि.सं. १८०० सुरु हुने वितिकै सेन वंशको शासन मकवानपुर र विजयपुरमा भागबण्डा गरिएछ । भागबण्डा भएपछि मकवानपुरका राजा मानिक सेनका माइला छोरा जगत सेनलाई विजयपुरको गद्दीमा राखिएको रहेछ । उनै जगत सेनले शासन गर्ने क्रममा विजयपुरलाई राजधानी बनाएको र उत्तर तर्फको महाभारत डाँडाको उच्च भागलाई सामरिक दृष्टिले सुरक्षा किल्लाका रुपमा प्रयोग गरेका थिए । राज्यको सुरक्षार्थ साँगुरी गढीमा सेनाको टुकडी राखिन्थ्यो भने त्यसभन्दा पश्चिमपट्टिको डाँडो शूलीकोटमा भने कारागार तथा अपराधीलाई सजाय दिने अड्डा राखिएको थियो । कुनै अपराधीलाई मृत्युदण्ड तोकियो भने त्यसबेला शूली चढाएर मार्ने प्रचलन रहेछ सेनवंशी विजयपुर राज्यमा ।
हाल धरान उपमहानगरपालिकाको वडा नं. २० मा पर्ने यो भूभाग, चिण्डे डाँडोभन्दा अलिक उत्तरतर्फ पर्छ र निकै उँचा पनि छ । वि.सं. २०३२ सालमा योगी नरहरि नाथकै पहलमा शूलीकोटमा ठूलो कोटीहोम महायज्ञ भएको थियो । धरानबाट पैदल यात्रा गरेर मात्र पुगिने त्यस समयमा म लगायत हाम्रा छिमेकका धेरैजना सदस्यहरु पनि यज्ञमा सहभागी हुन पुगेका थियौं । यज्ञस्थल भने शूलीकोट डाँडाको लगभग टाकुराकै फेदीमा भएको ठूलो चउरमा थियो । सयौं मन चरु होमिएको उक्त यज्ञको आगो पनि झण्डै १ महिनासम्म निभेको थिएन । अझै पनि उक्त क्षेत्रमा माटो उत्खनन् गर्ने हो भने २०३२ सालमा गरिएको त्यो होमको खरानी पाउन सकिन्छ ।
चिण्डेडाँडाकै बाटोबाट शूलीकोट जाने गोरेटो थियो । शूलीकोटको यज्ञस्थल पुग्नुभन्दा झण्डै ३०० मिटर जति तल पैदल हिँड्ने बाटाको पश्चिमपट्टि तात्कालीन सेनवंशी राजाले अपराधीलाई मृत्युदण्ड दिन तयार गरेको शूली त्यस बखतसम्म अर्थात् वि.सं.२०३२ सालसम्म नै सही सलामत जीवित थियो । त्यसको प्रत्यक्षदर्शीमध्येका थियौँ हामी । फलामको तीखो अग्लो भालालाई गाडिएको थियो र जुन भालाको टुप्पासम्म पुग्नका लागि भालासँग सटाएर एउटा टुङ घर बनेको थियो । छानोसहित भएको टुङमा चढ्ने काठे भ¥याङ थियो । टुङको माथि भएको चौतालमा अपराधीलाई सैनिकले लिएर जाने र त्यो तीखो भालामा अपराधीको गुद्दद्वार पर्नेगरी बसाइ दिएपछि अपराधीले टेकेको तखता हटाइदिने गर्थे अरे शूली चढाउँदा । बडो कष्टकर सजाय रहेछ शूली ।
जसरी सुरक्षाका अभावमा धरान–चतरा–भीमनगर चल्ने ढुङ्गेरेलका सबै लिकहरु चोरिएर सकिए ठीक त्यसैगरी विजयपुरको इतिहासको अन्तिम साक्षी थियो त्यो शूलीकोटमा उभिएको शूली पनि, चोरिएर सकियो । आज सिर्फ नाम छ शूलीकोट तर कस्तो थियो होला त त्यसबेलाको शूली ? भन्ने जानकारीसम्म पनि कसैलाई छैन । धरान उपमहानगरपालिकाले त्यस क्षेत्रमा पर्यटनकै लागि मात्र भए पनि एउटा शूलीको आकृति निर्माण गरिदिए त्यो शूलीले झण्डै ३०० वर्ष पुरानो विजयपुर राज्यको इतिहासको जीवन्तता बोकेर उभिइरहने थियो । सुम्निमा–पारुहाङको भीमकाय मूर्ति बन्न लागेको चिण्डेडाँडामा पुगेका पर्यटकलाई अलिक मास्तिर विजयपुर राज्यको इतिहास बोक्ने शूली पनि निर्माण गरिदिएर उकाल्न सकिने थियो नि ।