धरानः निकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। अधिकांश घरबाहिर निस्किएका छन् । रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए । भूकम्पले सबैजसो सर्वसाधारणलाई ब्युँझाएको छ । मध्यरातमा मानिसहरू सुतिरहेको समयमा निकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । पहाड र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ । हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन । ०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि काठमाडौँमा ठूलो धक्का महसुस हुने गरी गएको यो नै ठूलो भूकम्प हो । त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेको छ। देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो ।