Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साम्बाको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित

हाम्रो कोशी आवाज
असार १८ २०८२, बुधबार
साम्बाको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित

कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकप्रेरित नेपालले एएफसी महिला एसियन कप छनोटको लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकाविरुद्ध ८–० को जित निकालेको छ ।
बुधबार उज्वेकिस्तानको सम्पन्न खेलमा नेपालकी कप्तान सावित्राले ह्याट्रिक गरिन् । यस्तै, गीता रानाले दुई गोल गर्दा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक गोल थपे ।
खेलको आठौँ मिनेटमा गीताको गोलमा नेपालले अग्रता बनाएको थियो । जसलाई २०औँ मिनेटमा सावित्राले दोब्बर बनाइन् । यस्तै, ४२औँ मिनेटमा सावित्राले नै गोल गरेपछि नेपालले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । ४५औँ मिनेटमा सावित्राले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ४–० को अग्रता बनाएको हो ।
५४औँ मिनेटमा नेपालले पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गरिन् । श्रीलंकन रक्षकले रश्मीकुमारी घिसिङमाथि १८ यार्ड बक्समा फाउल गर्दा नेपालले पेनाल्टी पाएको थियो । जसलाई गीताले सहजै जाली चुमाइन् ।


६२औँ मिनेटमा निशा थोकरको गोलमा नेपालले अग्रतालाई ६–० मा पुर्‍यायो । ७८औँ मिनेटमा रेखाले गोल गर्दै नेपालको यो अग्रतालाई ७–० मा राखिन् ।
खेलको निर्धारित समय सकिन पुजाले गोल गरेपछि नेपाल खेलमा ८–० अघि रह्यो ।
प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो । यता, श्रीलंका भने पहिलो खेलमा उज्वेकिस्तानसँग १०–० ले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपाल, श्रीलंका, लाओस र उज्वेकिस्तान छन् । समूहबाट शीर्ष स्थान हासिल गर्ने टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ ।

प्रकाशित मिति: असार १८ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend