Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुख्यमन्त्रीले गरे उद्घाटन, दौडियो कोशी, संविधान दिवस मनाइने, तयारी पूरा

हाम्रो कोशी आवाज
असोज २ २०८३, शुक्रबार
मुख्यमन्त्रीले गरे उद्घाटन, दौडियो कोशी, संविधान दिवस मनाइने, तयारी पूरा

विराटनगर: कोशी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने भएको छ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित शहीद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ।
असोज ३ गते बिहान साढे ६ बजे विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयअगाडि भेला भएर प्रभातफेरी गरिनेछ। शहीद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल समारोह आयोजना हुनेछ।
मूल समारोहमा विभिन्न १६ जातजाति तथा भाषाभाषीका सांस्कृतिक झाँकी प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछ। त्यसैगरी खेलकौशल प्रदर्शन, प्रसिद्ध कलाकारद्वारा राष्ट्रिय गीत प्रस्तुति तथा पुरस्कार वितरणलगायत कार्यक्रम गरिनेछ।

संविधान दिवसकै अवसरमा असोज २ गते बिहान प्रदेश खेलकुद बोर्डको आयोजनामा ‘कोशी दौडन्छ’ रोड रेस तथा म्याराथन दौड सम्पन्न भएको छ।
रोड रेसको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए।
सामाजिक विकास मन्त्रालयले ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका’ विषयमा खुला निबन्ध प्रतियोगिता पनि आयोजना गरेको छ।
उक्त प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गाप्रसाद नेपाल प्रथम भएका छन्। काठमाडौंकी रबिना महर्जन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय भएका छन्।
त्यस्तै ओखलढुंगाकी निहारिका धमला, संखुवासभाकी सावित्रा पन्त सुवेदी र इटहरीकी अनुशा रावतले सान्त्वना स्थान प्राप्त गरेका छन्।
संविधान दिवसका अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगिता पनि आयोजना गरिने कार्यक्रम रहेको छ। यस्तै असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान कार्यक्रम तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षारोपण कार्यक्रम गरिने भएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा हुने कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ।

प्रकाशित मिति: असोज २ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend