Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसरी चलाउन सकिन्छ पूर्वदेखि पश्चिमसम्म बन्द रहेका उद्योग

हाम्रो कोशी आवाज
चैत्र २३ २०८२, सोमबार
यसरी चलाउन सकिन्छ पूर्वदेखि पश्चिमसम्म बन्द रहेका उद्योग

नेपालमा उद्योगधन्दाको इतिहास निकै पुरानो छ । एक समय यस्तो थियो, जब देशमा सीमित सहर भए पनि ती सहरमा उद्योग र व्यापारले अर्थतन्त्रलाई चलायमान बनाएका थिए । तर, समयसँगै सहरको संख्या र क्षेत्रफल बढे पनि स्वदेशी उत्पादन भने घट्दै गएको विडम्बनापूर्ण अवस्था देखिन्छ । अहिले बजारमा व्यापार त छ । तर, त्यो व्यापार खासगरी आयातीत वस्तुमा निर्भर छ । यसले देशको औद्योगिक आधार कमजोर, रुग्ण र जीर्ण मात्र भएको छैन कि ध्वस्त हुँदै जान लागेको स्पष्ट रूपमा देखिन्छ ।
इतिहासतिर फर्केर हेर्दा नेपालमा धेरै उद्योग राज्यकै पहलमा स्थापना भएका थिए । राणाकालदेखि नै केही महत्वपूर्ण उद्योग स्थापना गरिएका थिए । जसले देशको आर्थिक गतिविधिमा ठुलो भूमिका खेलेका थिए । तर, प्रजातन्त्र स्थापनापछि भने तीमध्ये अधिकांश उद्योग राजनीतिक हस्तक्षेप, व्यवस्थापन कमजोरी र स्वार्थी गठबन्धनका कारण धाराशायी हुँदै गए । नेता, व्यापारी र केही कर्मचारीको मिलेमतोले ती उद्योग सञ्चालनभन्दा पनि निजी स्वार्थका केन्द्र बन्न पुगेको आरोप आम रूपमा लाग्दै आएको छ ।
आज पनि देशभर यस्ता दर्जनौँ उद्योग छन्, जसका भवन, संरचना र जग्गा जस्ताका तस्तै रहेका छन् । सरकारी स्वामित्वका यस्ता कतिपय उद्योगका जग्गामा माफियाहरूको बिजनेस कम्प्लेक्स नै बनिसकेका छन् । यदि ती उद्योग फेरि सञ्चालन गर्न सकियो भने लाखौँ युवालाई रोजगारी दिन सकिने अवस्था छ । नेपालमा श्रमशक्तिको कुनै अभाव छैन । श्रमको खोजीमा श्रमयोग्य जनशक्ति बिदेसिनुपर्ने बाध्यता छ । आवश्यक पूर्वाधार पनि धेरै ठाउँमा तयारी अवस्थामै छन् । त्यसैले इच्छाशक्ति र स्पष्ट योजना भएमा बन्द उद्योगहरू पुनर्जीवित गर्न असम्भव छैन । तर, समस्या के छ भने यी उद्योगहरू कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा वर्षौँदेखि अध्ययन, समिति र प्रतिवेदनमै सीमित छ ।
नेपालका ऐतिहासिक उद्योगहरूमध्ये विराटनगर जुट मिल विशेष महत्व राख्ने उद्योग हो । सन् १९३६ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाको पालामा स्थापना गरिएको यो मिल देशकै सबैभन्दा पुरानो र ठुलो उद्योगमध्ये एक हो । सुरुमा यो मिल सरकारी स्वामित्वमा सञ्चालन गरिएको थियो । पछि निजी क्षेत्रलाई जिम्मा दिइयो । तर, राजनीतिक अस्थिरता, व्यवस्थापन समस्या र श्रमिक विवादका कारण यो उद्योग पटक–पटक बन्द हुने स्थितिमा पुग्यो ।
यो उद्योग बन्द हुँदा प्रत्यक्ष रूपमा हजारौँ श्रमिक बेरोजगार बने । त्यति मात्र होइन, मिलसँग सम्बन्धित हजारौँ किसान परिवारको जीवनयापनमा पनि असर पर्‍यो । विशेष गरी झापा, मोरङ, सुनसरी र सप्तरीका किसानहरू जुट उत्पादनमा निर्भर थिए । मिल बन्द भएपछि उनीहरूको प्रमुख आम्दानीको स्रोत नै कमजोर हुँदै र अन्ततः लगभग समाप्त नै भयो ।
अर्कातर्फ, निजी क्षेत्रद्वारा सञ्चालित केही उद्योग भने सफलतापूर्वक चलिरहेका उदाहरण पनि छन् । उदाहरणका रूपमा रघुपति जुट मिल हाल पनि सञ्चालनमै छ । यसले देखाउँछ कि उचित व्यवस्थापन र नीति भएमा जुट उद्योग अझै पनि सम्भावनायुक्त क्षेत्र हुन सक्छन् । जुट उत्पादन र यसको व्यापारको अवस्था हेर्दा पनि यो क्षेत्रको सम्भावना स्पष्ट हुन्छ । केही वर्षअघिसम्म नेपालबाट अर्बौँ रुपैयाँबराबरका जुटजन्य सामग्री निर्यात हुने गरेको थियो । ०७२ सालतिर करिब एक अर्ब ९२ करोड रुपैयाँबराबरको जुटका सामग्री विदेश निर्यात भएका थिए । त्यसपछि निर्यातको परिमाण अझै बढ्दै गएको देखिन्छ । २०७७ सालतिर यो निर्यात तीन अर्ब ७५ करोड रुपैयाँ पुगेको थियो भने ०७८ सालको वैशाखसम्म पाँच अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको जुट सामग्री निर्यात भइसकेको तथ्यांक देखिन्छ ।
नेपालमा उत्पादित जुटजन्य सामग्रीको सबैभन्दा ठुलो बजार भारत नै हो । यद्यपि, नेपालमा जुटको उत्पादन उद्योगको मागअनुसार पर्याप्त छैन । नेपाली उद्योगहरूले आवश्यक कच्चा पदार्थको ठुलो हिस्सा भारत र बंगलादेशबाट आयात गर्नुपरेको अवस्था छ । अझ विडम्बना त के छ भने नेपालमै उत्पादित जुटका किसानले भने आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । यससम्बन्धी व्यापक जनगुनासो सुनिँदै आएको छ ।
पूर्वी तराईका जिल्लाहरूमा एक समय धानपछि सबैभन्दा बढी उत्पादन हुने बाली जुट नै थियो । तर, उद्योग बन्द भएपछि किसानहरू पनि अन्य बालीतर्फ मोडिन थालेका छन् । यदि उद्योगहरू पुनः सञ्चालनमा आए भने किसान, श्रमिक र व्यापारी सबैलाई लाभ पुग्ने स्पष्ट छ । सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा एक समय ११ वटा उद्योग सञ्चालनमा थिए । तर, अहिले तीमध्ये आधाभन्दा बढी उद्योग बन्द अवस्थामा छन् । विराटनगर जुट मिल मात्र होइन, जनकपुर चुरोट कारखाना, नेपाल मेटल उद्योग, गोरखकाली रबर उद्योग, हेटौँडा कपडा उद्योग, नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग, वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानाजस्ता कैयौँ उद्योग पनि लामो समयदेखि बन्द मात्र छैनन्, जीर्ण अवस्थामा पुगेका छन् ।
सरकारले यी उद्योगहरू पुनः सञ्चालन गर्न विभिन्न अध्ययन गराएको र समिति गठन गरेको कुरा बारम्बार सुनिन्छ । तर, अध्ययन कहिले सकिन्छ र त्यस्ता जीर्ण उद्योग कहिले सञ्चालनमा आउँछन् भन्ने विषय अझै अनिश्चित नै छ । यस्तो अवस्थामा देशको आयात निर्भरता घटाउन र स्वदेशी उत्पादन बढाउन आवश्यक पहल अझै कमजोर देखिन्छ । कुनै वेला उद्योगमन्त्री रहेका नेताहरूले पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता बताउँदै आएका थिए । तर, व्यवहारमा त्यो नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन । ०५२ सालअघि सरकारी उद्योगहरूले वार्षिक रूपमा करोडौँ रूपैयाँ नाफा कमाउने गरेका थिए । तर, पछि ती उद्योगलाई राजनीतिक दलहरूका कार्यकर्ता भर्ती केन्द्र बनाइयो । व्यवस्थापनमा दक्षताभन्दा पनि राजनीतिक पहुँचलाई प्राथमिकता दिइँदा उद्योगहरूको अवस्था बिग्रँदै गयो ।
विभिन्न समयका उद्योगमन्त्रीहरूले बन्द उद्योगहरू सञ्चालन गर्ने विषयमा प्रतिवेदन तयार गर्न समिति गठन गरे पनि त्यसको ठोस उपलब्धि देखिएको छैन । बरु उद्योगका जग्गा, भवन र मेसिनरी सामग्री बेच्ने वा निजी स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको आरोप बारम्बार लाग्दै आएको छ । यस्ता बन्द उद्योगहरूलाई पुनः सञ्चालन गर्न ‘रुट मोडेल’ अपनाउने प्रस्ताव पनि अघि सारिएको छ । यो मोडेलअनुसार उद्योगको संरचना मर्मत वा पुनर्निर्माण गरिन्छ । निजी वा अन्तर्राष्ट्रिय कम्पनीलाई सञ्चालनको जिम्मा दिइन्छ र निश्चित अवधिपछि उद्योग पुनः सरकारलाई हस्तान्तरण गरिन्छ ।
यस अवधारणाअनुसार करिब २०–४० वर्षसम्म निजी कम्पनीलाई उद्योग सञ्चालन गर्न दिन सकिन्छ । प्रारम्भिक सात वर्षसम्म कर छुट दिएर उद्योगलाई स्थापित हुन सहयोग गर्न सकिन्छ । त्यसपछि नियमित रूपमा रोयल्टी र लिज शुल्क सरकारले प्राप्त गर्न सक्छ । यसरी तोकिएको अवधि पूरा भएपछि उद्योगको स्वामित्व पुनः सरकारमा फर्कने व्यवस्था हुन्छ । यस प्रणालीले सरकारले उद्योग बेच्नुपर्ने अवस्था आउँदैन । न त ठुलो आर्थिक लगानी गर्नुपर्ने बाध्यता नै हुन्छ ।
यदि यस्तो स्पष्ट नीति र इमानदार कार्यान्वयन भयो भने बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउन सकिन्छ । यसबाट देशभित्र ठुलो मात्रामा रोजगारी सिर्जना हुनेछ । स्वदेशी उत्पादन बढेर विदेशी मुद्रा बचत हुने सम्भावना पनि बढ्नेछ । त्यसैले अहिलेको आवश्यकता भनेको अध्ययन र बहानाभन्दा पनि ठोस निर्णय र दृढ कार्यान्वयन हो । उद्योगहरू सञ्चालनमा आए भने त्यसले केवल अर्थतन्त्रलाई मात्र होइन, लाखौँ नेपाली युवाको भविष्यलाई पनि नयाँ दिशा दिन सक्छ । र, स्वदेशमै रोजगारको लहर सिर्जना गर्न सकिन्छ ।
(इन्जिनियर साह सुनसरी ४ बाट निर्वाचित रास्वपाका सांसद हुन्)

प्रकाशित मिति: चैत्र २३ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ९ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend