-महेश श्रेष्ठ
धरानः नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा. डा. स्मृति कार्कीलाई नियुक्त गरेको छ ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनलाई २०८३ असार २५ गते गरिमामय पदमा नियुक्त गरेका हुन् ।
चिकित्सा शिक्षा, प्रयोगशाला चिकित्सा र संस्थागत प्रशासनमा लामो अनुभव हासिल गरेकी डा. कार्की प्रतिष्ठानकै वरिष्ठ प्राध्यापकका रूपमा परिचित छिन् । उनको नियुक्तिलाई प्रतिष्ठानमा स्थायित्व, सुशासन र शैक्षिक सुधारको अपेक्षासँग जोडेर हेरिएको छ ।
प्रा. डा. कार्की लामो समयदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्याथोलोजी विभागमा कार्यरत रहँदै आएकी छिन् । उनले प्राध्यापक हुनुका साथै विभागाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन् । हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, क्यान्सर निदान तथा प्रयोगशाला सेवामा उनको विशेष दक्षता रहेको मानिन्छ ।
प्रशासनिक अनुभवका हिसाबले पनि उनलाई अनुभवी मानिन्छ । २०२२ मा प्रतिष्ठानको कार्यकारी सदस्यमा नियुक्त भएपछि संस्थाको नीति निर्माण, प्रशासनिक व्यवस्थापन तथा निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
प्रा. डा. स्मृति कार्कीः
अनुसन्धान क्षेत्रमा पनि डा. कार्कीको उल्लेखनीय योगदान छ । सार्वजनिक अनुसन्धान अभिलेखअनुसार उनँका ३० भन्दा बढी वैज्ञानिक अनुसन्धान प्रकाशित भएका छन् । विशेषगरी क्यान्सर रोगको निदान, प्याथोलोजी तथा प्रयोगशाला चिकित्सासम्बन्धी अध्ययनमा उहाँको सक्रिय सहभागिता रहेको देखिन्छ । उनका अनुसन्धानलाई अन्तर्राष्ट्रिय रूपमा पनि उल्लेखनीय उद्धरण प्राप्त भएका छन् ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत केही वर्षदेखि नेतृत्व परिवर्तन, प्रशासनिक विवाद, कर्मचारी व्यवस्थापन तथा शैक्षिक सुधारका विषयमा निरन्तर चर्चामा रहँदै आएको छ । यस्तो अवस्थामा प्रा. डा. स्मृति कार्कीको नेतृत्वबाट संस्थामा सुशासन कायम गर्ने, बिरामी सेवाको गुणस्तर सुधार्ने, चिकित्सा शिक्षा र अनुसन्धानलाई थप प्रभावकारी बनाउने तथा कर्मचारी र विद्यार्थीबीच समन्वय बढाउने अपेक्षा गरिएको छ ।
प्राज्ञिक अनुसन्धान र चिकित्सा क्षेत्रमा योगदान जर्नल प्रकाशन र उद्धरणः
उनी चिकित्सा क्षेत्रमा स्थापित र प्रतिष्ठित अनुसन्धानकर्ता हुन् । रिसर्चगेटका अनुसार उनका ३१ भन्दा बढी वैज्ञानिक अनुसन्धानमूलक लेखहरू प्रकाशित भइसकेका छन् । उनका अनुसन्धानहरूलाई विश्वभरका चिकित्सा विज्ञहरूले २४५ भन्दा बढी पटक सन्दर्भका रूपमा प्रयोग गरेका छन् ।
मुख्य अनुसन्धान क्षेत्रः उनको विशेष अनुसन्धान ‘सर्जिकल प्याथोलोजी’ ’साइटोलोजी’ र नेपालको स्वास्थ्य अवस्थासँग जोडिएका विभिन्न क्लिनिकल केसहरूमा केन्द्रित छ । उनले बीपी प्रतिष्ठानमा हुने एपेन्डिसाइटिस र ट्युमर निदान सम्बन्धी महत्वपूर्ण अध्ययनहरूको नेतृत्व गरेकी छिन् ।
प्रतिष्ठानभित्रको प्रशासनिक यात्राप्याथोलोजी विभागको सुदृढीकरणः
प्रतिष्ठानको प्याथोलोजी विभाग रहँदा उनले ल्याब (प्रयोगशाला) प्रविधिलाई आधुनिक बनाउन र रिपोर्टिङ प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेलेकी छिन् ।
कार्यकारिणी समितिमा भूमिकाः
सन् २०२२ अगस्टमा प्रतिष्ठानको कार्यकारिणी सदस्यका रूपमा शपथ लिएपछि उहाँले संस्थाको आन्तरिक नीति निर्माण, शैक्षिक क्यालेन्डर परिमार्जन र कर्मचारी व्यवस्थापनमा प्रत्यक्ष अनुभव हासिल गर्नुभयो। संस्थाभित्रकै सिनियर र विवादरहित व्यक्तित्व भएकाले उनलाई आन्तरिक राजनीतिभन्दा माथि उठेको मानिन्छ ।
खुला प्रतिस्पर्धा र मूल्याङ्कनका मुख्य आधारहरू
यसपटक उपकुलपति चयनका लागि अपनाइएको प्रक्रिया नेपालको स्वास्थ्य क्षेत्रकै लागि नवीन र ऐतिहासिक मानिएको छ । एकीकृत कार्यविधि, २०८३ः विगतमा हुने राजनीतिक भागबन्डा अन्त्य गर्न सरकारले पहिलोपटक ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ जारी गरेको थियो ।
कडा छनोट चरणः जेठ ४, २०८३ मा खुला आवेदन खुलाइएकोमा कुल ११३ जना वरिष्ठ चिकित्सा विज्ञहरूले आवेदन दिएका थिए । सिफारिस समितिले दरखास्तहरूको गहन मूल्याङ्कन गरी प्रत्येक प्रतिष्ठानका लागि ७ जना (कुल ४२ जना) को प्रारम्भिक सूची सार्वजनिक गरेको थियो ।
कार्ययोजना प्रस्तुतिकरणः सर्टलिस्टमा परेका उम्मेदवारहरूले प्रतिष्ठान सुधारको स्पष्ट कार्ययोजना र अन्तर्वार्ता प्रस्तुत गरेपछि मात्र डा. कार्कीको नाम कुलपति एवं प्रधानमन्त्री वालेन्द्र शाह समक्ष सिफारिस गरिएको हो ।
भावी कार्ययोजना तथा प्राथमिकताहरूः
डा. कार्कीले आफ्नो प्रस्तुतीकरण र कार्ययोजनामा बीपी प्रतिष्ठान सुधारका लागि निम्न बुँदाहरूलाई प्राथमिकतामा राखेको बुझिएको छ ।
सेवा प्रवाहमा डिजिटल रूपान्तरणः
ओपिडी टिकट, बिलिङ र ल्याब रिपोर्ट अनलाइन प्रणालीमा लगेर बिरामीले घण्टौं लाइन बस्नुपर्ने झन्झट अन्त्य गर्ने ।
अस्पतालको साख र पूर्वाधार सुधारः
विगत केही वर्षदेखि उपकरण खरिदमा देखिएका विवादहरू समाधान गर्दै थन्किएका स्वास्थ्य उपकरणहरू (जस्तैः एमआरआई, सीटी स्क्यान) पूर्ण क्षमतामा सञ्चालन गर्ने ।
शैक्षिक र अनुसन्धानको स्तरवृद्धिः
प्रतिष्ठानको दक्षिण एसियाली स्तरको प्राज्ञिक गरिमालाई फर्काउन चिकित्सा शिक्षा, फेलोसिप र वैज्ञानिक अनुसन्धानका लागि थप बजेट र अन्तर्राष्ट्रिय साझेदारी बढाउने ।
वित्तीय पारदर्शिताः
प्रतिष्ठानभित्र संकलित राजस्व र सरकारी अनुदानको सही सदुपयोग गर्दै संस्थालाई आर्थिक रूपमा सबल बनाउने ।
अन्त्यमाः
नवनियुक्त उपकुलपति प्रा. डा. कार्कीलाई हार्दिक बधाई एवम् कार्यकाल ऐतिहासिक रुपमा सफल होस् शुभकामना ।