धरानः फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले १–१ गोल गरे। पहिलो हाफमा एम्बाप्पेले पेनाल्टी मिस गरे। दुवैतर्फबाट पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बाप्पे र डेम्बेलेले १–१ गोल गरे ।
यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।
सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ । एम्बाप्पेले पहिलो हाफको २८ औँ मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले रोकेका थिए ।
२५ औँ मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई फल गरेर पेनाल्टी बक्समा ढालेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । दोस्रो हाफको ६०औँ मिनेटमा डिजायर डुएको पासमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा डेम्बेले जितका लागि निर्णायक गोल गरे ।
आजको गोलसहित फ्रान्सेली कप्तान एम्बाप्पेको जारी विश्वकपमा गरेको गोलको संख्या ८ पुगेको छ । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बराबर गोल गरेका छन् ।
आजको खेलमा डेम्बेलेले गरेको गोलमा एम्बाप्पेले असिस्ट समेत गरेका थिए । एमबाप्पेले ८ गोलसँगै ३ असिस्ट पनि गरे । जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसी भन्दा अगाडि रहेका छन् । जारी खेलको अहिलेसम्म मेसीले पनि ८ गोल गरेका छन् । तर उनको १ असिस्ट मात्रै छ । योसँगै एमबाप्पेले विश्वकपमा समग्रमा २० गोल पुरयाएका छन् । यो मेसीको भन्दा एक गोल मात्रै कम हो ।
मोरक्कोविरुद्धको खेलमा काइलियन एम्बाप्पेले पेनाल्टी गुमाए पनि उत्कृष्ट गोल गरे । खेल सकिन १३ मिनेट बाँकी रहँदा, मोरक्कोको नियन्त्रणमा बल भएकै बेला एम्बाप्पेले बेन्चतर्फ हात उठाएर मैदानमा पल्टिएपछि उनलाई मैदानबाट बाहिर बोलाइयो । उनी धेरै पीडामा देखिएनन्, तर फ्रान्सको मेडिकल टोलीका एक सदस्यको सहयोगमा उनले आफ्नो दाहिने खुट्टा तन्काए । मैदानबाट बाहिरिने क्रममा एम्बाप्पेले दर्शकहरूलाई हात हल्लाएर अभिवादन गरे र बेन्चमा रहेका आफ्ना सहकर्मीहरूसँग ‘हाई–फाइभ’ गरे ।
त्यसपछिका टेलिभिजन फुटेजमा एम्बाप्पेको दाहिने खुट्टामा बरफ राखिएको देखियो, तर खेलको अन्तिम सिट्टी बजेपछि उनी टोलीको खुशीयालीमा सामेल भए ।