धरानः यो बिर्सन सजिलो छ कि सन् २०१६ मा, जब उनी २९ वर्षका थिए र बार्सिलोनामा आबद्ध थिए, मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । त्यसअघि उनी जर्मनीसँग सन् २०१४ को विश्वकप फाइनल र तीनवटा कोपा अमेरिका फाइनलमा पराजित भएका थिए ।
त्यो निर्णय फिर्ता लिएपछि उनले दुई पटक कोपा अमेरिकाको उपाधि जितेका छन् । जब मेस्सीले त्यतिबेला पीएसजीमा आबद्ध रहँदा सन् २०२२ मा कतारमा विश्वकपको उपाधि उचाले, तब उनको खेल जीवनको ‘जिगस पजल’ (पहेली) को अन्तिम टुक्रा पनि मिलेको जस्तो महसुस भयो ।
धेरैले यसलाई सर्वकालीन उत्कृष्ट खेलाडीको बहसको अन्तिम कडी मान्थे– किनकि धेरैले विश्वकप विजेता पेले र डिएगो म्याराडोनालाई नै महान् खेलाडी मान्दै आएका थिए । सन् २०२२ को फाइनलअघि उनले भनेका थिए–विश्वकपमा मेरो यात्रा फाइनलमा टुंग्याउन पाउनु, अन्तिम खेल फाइनलमै खेल्न पाउनुमा म निकै खुसी छु । यो वास्तवमै धेरै सन्तोषजनक कुरा हो ।
‘यस वर्ष र अर्को विश्वकपको बीचमा धेरै वर्षको अन्तर छ । मलाई लाग्दैन कि म त्यो गर्न सक्छु होला । यसरी टुंग्याउनु उत्कृष्ट कुरा हो ।’ र जब उनी अर्को वर्ष युरोप छोडेर एमएलएसको इन्टर मियामीमा आबद्ध भए, तब यस्तो लाग्थ्यो कि उनी अब आफ्नो खेल जीवनको अन्त्यतिर (सुस्त गतिमा) अघि बढ्दैछन् । गत वर्षको फिफा क्लब विश्वकपमा समेत जसमा उनले खेलेका थिए– यो स्पष्ट थिएन कि उनी यस गर्मीमा हुने प्रतियोगितामा सहभागी हुनेछन् वा छैनन् ।
तर यहाँ उनी अझै पनि रोक्न नसकिने जस्तै देखिन्छन्– यद्यपि उनको खेल शैलीमा परिवर्तन आएको छ । इंग्ल्यान्डसँगको खेलअघि, यस प्रतियोगितामा उनले तय गरेको कुल दूरीको ४७ प्रतिशत हिस्सा हिँडेर पूरा गरेका थिए; कुनै पनि–‘आउटफिल्ड’ खेलाडीका लागि यो सबैभन्दा उच्च प्रतिशत हो । रणनीतिकरूपमा उनले आफूलाई कम्तीमा पाँचपटक नयाँ रूप दिएका छन्, यसो भन्छन् मेस्सीको जीवनी लेख्ने स्पेनी पत्रकार गुइलेम बालागे ।
मेस्सीले हाल इन्टर मियामी र अर्जेन्टिनाका लागि लगातार १३ खेलमा गोल वा गोलका लागि सहयोग (असिस्ट) गरेका छन् । यदि उनले आइतबार स्पेनविरुद्धको फाइनलमा गोल वा गोलका लागि सहयोगमा भूमिका निभाए भने, उनले सन् २०११ मा बनाएको लगातार १४ खेलको कीर्तिमान बराबरी गर्नेछन् । साथै, उनी काफुपछि तीनवटा विश्वकप फाइनल खेल्ने दोस्रो खेलाडी बन्नेछन् । पक्कै पनि, त्यो नै उनको अन्तिम विश्वकप खेल हुनेछ ? आखिर, सन् २०३० मा उनी ४३ वर्षका हुनेछन् ।
मेस्सीले काखमा बोकेर नुहाइदिएकासँगै विश्वकपमा
फिफा विश्वकप २०२६ को फाइनलमा एउटा दुर्लभ संयोग जुर्दैछ । करिब १९ वर्षअघि अर्जेन्टिनी क्याप्टेन लियोनल मेसीले काखमा राखेर नुहाइदिएको ५ महिनाको शिशुसँग उनले विश्वकपको फाइनल खेल्दैछन् ।
स्पेनबाट प्रतिद्वन्द्वीका रूपमा मैदानमा उत्रिने ती शिशु हुन्, स्पेनका युवा स्टार लामिन यामल । सन् २००७ मा बार्सिलोनास्थित क्याम्प नोउ रंगशालामा युनिसेफ र बार्सिलोना फाउन्डेसनको परोपकारी अभियानका क्रममा मेसीले यामललाई नुहाइदिएका थिए ।
त्यसबेला २० वर्षीय मेसी बार्सिलोनाका उदाउँदा स्टार थिए भने ५ महिनाका यामल आफ्नो परिवारसहित चिट्ठामार्फत उक्त कार्यक्रममा सहभागी भएका थिए। फोटोग्राफर जोआन मोनफोर्टका अनुसार मेसी त्यतिबेला निकै लजालु थिए र सानो शिशुलाई कसरी समाउने भन्नेमा अलमलिएका थिए। पछि यामलकी आमाको सहयोगपछि मेसीले उनलाई काखमा लिएर नुहाइरहेको तस्बिर खिचिएको थियो।
वर्षौंसम्म गुमनाम रहेको यो तस्बिर सन् २०२४ को युरोकपका बेला यामलका बुबाले सामाजिक सञ्जालमा राखेका थिए । ‘दुई लेजेन्डको सुरुआत’ भन्ने सन्देशसहित तस्वीर सार्वजनिक भएपछि विश्वभर भाइरल बनेको थियो।
यो वर्ष मेसी र यामल विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा आमनेसामने हुँदैछन्। सोमबार बिहान हुने फाइनलमा साविक विश्वविजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन उपाधिका लागि भिड्नेछन्।
विश्वकपभर उत्कृष्ट प्रदर्शन गरिरहेका मेसीले हालसम्म ८ गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रता कायम गरेका छन्। अर्कोतर्फ १९ वर्षीय यामल स्पेनका प्रमुख आक्रमणकारीमध्ये एकका रूपमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल भएका छन्।
यामलले मेसीविरुद्ध विश्वकप फाइनल खेल्न पाउनु आफ्ना लागि विशेष क्षण हुने बताएका छन्। ‘म अलिकति ठूलो भएको छु, लियो पनि। फाइनलिसिमामा उहाँविरुद्ध खेल्न पाइएन। अब विश्वकपको फाइनलमा उहाँसँग मैदान बाँड्ने अवसर पाउने आशा पूरा हुँदैछ।’
मेसी र यामलबीचको समानता पनि रोचक छ। दुवै ला मासिया एकेडेमीका उत्पादन हुन्, दुवै बायाँ खुट्टाले खेल्ने आक्रमणकारी हुन् र दुवैले बार्सिलोनाबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका छन्। झन्डै दुई दशकअघि एउटै फोटोमा देखिएका यी दुई खेलाडी अब विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफीका लागि आमनेसामने हुँदैछन्।
यो दुर्लभ संयोगले अर्जेन्टिना–स्पेनबीचको विश्वकप फाइनललाई थप ऐतिहासिक र रोमाञ्चक बनाएको छ।