अन्ततः धरान बजार खुल्ला भएको छ । बिहानदेखि १० बजेसम्म र बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म गरेर दुई चरणमा खोलिन थालिएको बजार खोलिएपछि व्यवसायीले केही राहत महसुस गरेका छन् । उपभोक्ता तथा सर्वसाधारणले पनि यसमा राहत महसुस गरेकै हुन् । अहिले मोटरसाइकललगायत सवारीसाधनको चाप बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्था र पसलहरूमा सर्वसाधारणको भीड लाग्न थालेको छ । तर सुरक्षा सतर्कता भने अपनाइएको छैन । पसलहरू खोल्ने समयका सम्बन्धमा र पसल खोल्दा अपनाउनुपर्ने आवश्यक सुरक्षाका मापदण्डहरूका बारेमा सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले व्यवसायीहरूलाई जानकारी गराउने भनेपनि अहिलेसम्म त्यस्तो पाइएन ।
सर्वसाधारणमा पनि हेलचेक्र्याइँ छ, भनौं अझै छ सुरक्षामा हेलचेक्र्याइँ । कम्तीमा आफैं सचेत भएर मास्क र सेनिटाइजर बोक्नुपर्ने ग्राहक तथा व्यवसायी पनि खासै ध्यान दिन चाहँदैनन् । कोही कोही त मास्क समेत नलगाइ त्यतिकै निष्फिक्रीसाथ हिँडेको पाइएको छ । पसल खुलेपनि सामाजिक दुरी कायम गरिएको पाइँदैन । अत्याधिक भीडभाड हुने कार्यालय तथा पसलमा कोरोना फैलिन नदिन अपनाउनुपर्ने सावधानीबारे सूचनासमेत टाँस भएकै छैन । विभिन्न कार्यालय र पसल खुलेपनि हात धुने समेत व्यवस्था छैन, सेनिटाइजरको व्यवस्था छैन । लकडाउनअघि चोकचोकमा ट्याङ्कीसहित पानी र साबुनको व्यवस्था गरेपनि अहिले त्यहाँ पानी नै छैन, पानी भएका ठाउँमा पनि सर्वसाधारणले खासै ध्यान दिँदैनन् ।
कोरोना भाइरसका कारण विश्व थिलथिल छ । विगतमा पनि यस्ता महामारी फैलिएर मानवीय क्षति भएको पाइन्छ । बजारमा भीडभाड हुँदा साथै सामाजिक दुरी कायम नगर्दा रोग सर्ने सम्भावना रहेको चिकित्सकले बताउँदै आएका छन् । रोग र महामारीको नजरमा सबै समान हुन्छन् । लापरवाही र हेलचेक्रयाइँ गरे सबैलाई यो महामारीले छुन्छ नै । सबैले सबै पक्षबाट लापरबाही नगरौं । सचेत बनौं । महामारी फैलिन नदिन आफैंले पनि सावधानी अपनाउनुपर्ने बेला आएको छ । व्यवसायी, व्यवसायीका कर्मचारी, सर्वसाधारण सबैले अनिवार्य मास्क लगाऔं, सेनिटाइजर प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं, महामारीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।