धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएका छन् ।
मन्त्री पोखरे्लले अभिभावक र विद्यार्थीमा रहेको एसइई, कक्षा–११ र १२ को परीक्षाको अन्योलता अब धेरै दिन नरहने समेत बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गतको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको जानकारी दिए ।
‘परीक्षा सन्दर्भमा विद्यार्थी तथा अभिभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने । मन्त्री पोखरेलले कोरोनाका कारण एसईई र कक्षा ११ र १२ को परीक्षा रोकिएको र विश्वविद्यालय तहका विभिन्न परीक्षा स्थगित भएको भन्दै त्यसको उचित व्यवस्थापन गरी शैक्षिक क्षति हुन नदिने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।
मन्त्री पोखरेलले कोरोना महामारीका बेला शैक्षिक सत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताए । उनले प्राप्त सुझावबमोजिम सिकाइ सहजीकरणसम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको स्पष्ट पारे ।
परीक्षा जरुरी नरहेको भन्दै शिक्षा विज्ञहरुले सुझाव दिँदै आएका छन् । प्रतिकुल अवस्था आएकोले विद्यालयले लिँदै आएको आन्तरिक मूल्यांकनका आधारमा कार्य गर्न उनीहरुको सुझाव जारी छ । तर मन्त्रीको मुड भने परीक्षा सञ्चालन गर्न मै केन्द्रित देखिन्छ । जुन कुरा संसदमा उनले व्यक्त धारणाले पनि पुष्टि गरेको छ ।
‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०, ११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटिईभिटिका परीक्षाका सन्दर्भमा भएका अन्योलतालाई सरकारले तत्काल स्पष्ट पार्ने छ’ उनले भने ‘विद्यालय तह स्नातक तह स्नातकोत्तर तह लगायत सबै तहका अन्तिम वर्ष वा अन्तिम समेष्टरका परीक्षा केही समय कुरेर भए पनि उपयुक्त समयमा सञ्चालन गर्ने हाल पहिलो समेष्टर पढाइसकेकालाई परीक्षा नलिइकन पनि अर्को सेमष्टरमा लागि पढाइ शुरु गर्ने र परीक्षाको सन्दर्भमा उपयुक्त समयमा परीक्षा लिने, शैक्षिक सत्र क्षति हुन नदिनेतर्फ अन्तिम गृहकार्य भइरहेको छ ।’