धरानः गत २०७६ सालका कक्षा १० का विद्यार्थीको सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्यांकनलाई सम्बन्धित विद्यालयले शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने सरकारले निर्णय गरेको छ ।
हिजो गरेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयका बारेमा सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिँदै सो बताएका हुन् ।
‘एकाइले त्यस विवरणलाई राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ’ उनले थपे, ‘त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले प्रमाणीकरण गर्नेछ । यससम्बन्धी आवश्यक कार्यविधि बोर्डले बनाउनेछ ।’
मन्त्री डा. खतिवडाले शिक्षण संस्थाका कार्यालय खुला गर्न दिइने निर्णय भएको जानकारी दिए । ‘तर पठनपाठन गर्न पाइने छैन’ उनले भने । उनले सार्वजनिक पुस्तकालय पनि खोल्न सकिने जानकारी दिए ।
विद्यालय, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक संस्था हाललाई सञ्चालन गर्न नदिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।