धरानः कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी अर्थात् लकडाउन गरेपछि अहिले घर नै विद्यालय बनेको छ ।
सरकारले लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर श्रव्यदृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाएको छ ।
लकडाउनका कारण स्कुल जान नपाएका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएको हो ।
त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका (अन्तिममा राखिएको छ) समेत सार्वजनिक गरेको छ । जसअनुसार असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुनेछ ।
यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ ।
कोरोना महामारीका कारण तत्काल विद्यालय खुल्ने अवस्था नदेखिएपछि सरकारले विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्देश्यले घरमै बसेर पढ्ने व्यवस्था मिलाएको हो । अधिकांश शिक्षण संस्थाले घरमै पठनपाठन शुरूवात गरिसकेका छन् । अहिले अधिकांश निजी विद्यालयले अनलाइन शिक्षा चलाइरहेका छन् । तर पनि इन्टरनेटको माध्यमबाट पठनपाठन हुने भएकाले दुर्गम स्थानमा रहेका विद्यार्थीलाई समस्या हुने देखिन्छ ।


