धरानः कोरोनाभाइरस महामारीका कारण ९७ पञ्तिशत बालबालिका शिक्षामा फर्कन मुस्किल रहने एक अध्ययनले देखाएको छ ।
विद्यालयहरु बन्द रहेका कारण यस्तो भएको सेभ द चिल्ड्रेनले जनाएको छ । पारिवारिक समस्याका कारण धेरै बालबालिकाहरु काममा लाग्ने वा बालिकाहरुको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने देखिन्छ । यस घटनालाई ‘अभूतपूर्व शैक्षिक आपतकाल’ को संज्ञा दिएको छ ।
बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्यांक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु बन्द रहेका कारण विश्वभरका १ अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेको जनाएको छ । यो संख्या विश्वको कूल विद्यार्थी संख्याका करिब ९० प्रतिशत हुन्छ ।
अनुमान अनुसार कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक संकटका कारण करिब ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्नेछन् । यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ । यस्तै, यही संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुनेछ ।
सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आशिङले कोरोना महामारीका कारण करिब एक करोड बालबालिकाले स्कुल छाड्ने देखिएको बताइन् । उनले सरकार तथा दातृ निकायहरुले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेको बताइन् ।