धरानः संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) ले निजी विद्यालयहरूका दुई छाता संगठन प्याब्सन र एनप्याब्सनले कोरोना महामारीका बीच चलिरहेको अनलाइन कक्षा बन्द गर्दै शिक्षकहरूलाई घरबिदा दिने एकल निर्णय गरेर दादागिरी शैली देखाएको आरोप लगाएको छ ।
लकडाउनका बीच सिर्जित समस्यालाई लिएर नेपाल शिक्षक महासंघ, अभिभावक महासंघ, प्याब्सन र एनप्याब्सनसँग युनियनको आपसी सहकार्य भइरहेको अवस्थामा प्याब्सन र एनप्याब्सन दुवै संस्थाले एक्कासि अनलाइन कक्षा बन्द गरी शिक्षकलाई घर बिदा दिने कार्यले आफूहरू स्तब्ध भएको विज्ञप्तिमार्फत जनाएको छ ।
युनियनले १ साउनदेखि बेतलबी घर बिदा दिने निर्णयको घोर भत्र्सना गर्दै उक्त निर्णय तत्काल फिर्ता लिनसमेत जोडदार माग गरेको छ ।
कोरोना महामारीका कारण नयाँ शैक्षिकसत्र सुरु गर्न नपाएका निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा सञ्चालन गरेर शुल्क असुल्न नपाएपछि सरकारलाई घुर्की देखाउन थालेको उनीहरूको भनाइ छ ।
कक्षा सञ्चालनको शुल्क असुल गर्न नपाइने र आफूले माग गरेको सहुलियत ऋण र आर्थिक सहयोग नपाएपछि निजी विद्यालय सञ्चालकहरुले नयाँ वर्षको सुरुआतसँगै सञ्चालन गरेका अनलाइन कक्षा साउन १ गतेबाट स्थगित गरेका छन् । उनीहरुले शिक्षक तथा कर्मचारीलाई पनि बेतलबी बिदा दिएका छन् ।
