धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । कोरोनाका कारण नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जनाकारी दिए ।
प्रा.डा. गौतमले हालसम्मका कुल संक्रमित १७ हजार ५०२ जनामध्ये ११ हजार ६३७ जना डिस्चार्ज भइसकेका बताए । डिस्चार्ज हुनेको संख्या कूल संक्रमितको ६६.१२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १०३ जना डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए ।
देशभर सक्रिय कोरोना संक्रमित ५ हजार ८२५ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताए । देशभर क्वारेन्टीनमा रहेका व्यक्तिको संख्या २३ हजार २७५ जना रहेको जनाइएको छ ।
रौतहट, कैलाली र बाजुरा जिल्लामा हाल पनि ५०० जनाभन्दा बढी संक्रमित उपचाररत रहेका छन् भने कोरोना शून्य भएका जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेका प्रवक्ता गौतमले बताए ।
प्रदेश १ मा १४ जना थपिए
यसैबीच प्रदेश एकमा शनिबार थप १४ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ९, तेह्रथुममा २, झापा, इलाम र उदयपुरका समान १ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै शनिबार नै प्रदेश एकबाट २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ जना, मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ६ जना र विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका छन् । यससंगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय २ पुगेको छ ।