बिर्तामोडः बुधबार झापामा डुबेर तीनजनाको मृत्यु भएको छ ।
यस्तै, दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ । बुधबार राति ८ बजे भद्रपुर नगरपालिका २ बस्ने १० वर्षी अंकुश तामाङ सोही ठाउँको नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला परेका थिए ।
उनीसँगै खेल्न गएका सोही स्थानका १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामी बेपत्ता भएका छन् । सीमा प्रहरी चौकी पृथ्वीनगरका अनुसार बुधबार साँझ दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् । खोलाले बगाएर ल्याएको घोप्टो परेको अवस्थामा उनको लाश फेला परेको थियो ।
बुधबार साँझ ७ बजे झापा गाउँपालिका ६ झाक्री चक्रमारी बस्ने ६५ वर्षीया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् ।
निगुरो टिपेर फर्कने क्रममा विगतदेखि लागेको छारे रोगले च्यापेपछि खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।
वर्षायाम सुरु भएसँगै आएको बाढीपहिरोमा परी प्रदेश नं. १ मा हालसम्म १७ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षाका कारण नदीनाला तथा विभिन्न जलाशयहरुको जलस्तर र पानीको बहाव उच्च भई आएको बाढी र पहिरोमा परी १७ जनाले ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी झापाका ७ जना, मोरङका ५ जना, सुनसरीका २ जना, धनकुटाका १ जना, संखुवासभाका १ जना र उदयपुरका १ जना रहेका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढीको प्रकोपका कारण प्रदेश १ मा हालसम्म कुल १७ जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा ताप्लेजुङका १, मोरङका १, सुनसरीका २, तेह्रथुमका २ र संखुवासभाका ११ जना रहेका छन् । घाईते हुनेमा झापाका ३, संखुवासभाका ४ र उदयपुरका १ जना रहेका छन् । झापा, मोरङ र संखुवासभा बाढी पहिरोले धेरै क्षति गरेको १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक पोखरेलले बताए ।