ताप्लेजुङः सरस्वता वनेम अहिले ५७ वर्षकी भइन् । उनी न बोल्न सक्छिन् र न राम्ररी हिँडन नै । उनी कान समेत सुन्दिनन् तर यस्ता सबैलाई राज्यले देखिसकेको छ र भत्ता दिँदै आएको छ ।
उनको हातमा भत्ताको नाममा केही आएको छैन । उनी ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्वर १ ढुङ्गे साघुँ निवासी हुन् । उनको नागरिकताअनुसार उनी अहिले ५७ वर्ष पूरा भइन् । उनी माइती घरमा बस्न अप्ठ्यारो लागेपछि आफैं ‘केही गर्छु’ भन्दै ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका–७ आइपुगिन् । आफन्तको घरमा बसेर सकेसम्म ढाका बुन्दै दिनहरू बिताउँदै गइन् ।
फरक क्षमता भएकी वनेमको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनप्रतिनिधिले उनको मत प्रयोग गरेकै छन् । उनी जस्तै फरक क्षमता भएकाहरूले भने राज्यबाट पाउनुपर्ने मासिक सेवा सुविधा लिँदै आएका छन् । तर वनेमले पाउने भत्ताबारे अत्तोपत्तो छैन, न राज्यले खोज्यो न उनले ।
५७ वर्षमा पनि किन राज्यबाट बञ्चित त ? स्थानीय तहको निर्वाचत भएर गाउँगाउँमा स्थानीय सरकारका प्रतिनिधिहरू आएको पनि ३ वर्ष पूरा भइसक्यो । २०७५ चैत महिनामा मैवाखोला गाउँपालिका वडा नम्बर १ अध्यक्ष र्दुर्गा तामाङले परिचयपत्र बनाइदिन्छु भन्दै आवश्यक कागजात लगेको तर अहिलेसम्म केही खबर नगरेको र फोन गर्दा पनि नउठाएको वनेमकी आफन्त वजनकुमारी लिम्बूले जानकारी दिइन् ।
लिम्बूले भनिन्, ‘पढेलेखेकी छैनौं कस्ले भन्ने, कस्ले खोजिदिने केही थाहा छैन ।’ मैवाखोला गाउँपालिका १ नम्बर वडा अध्यक्ष दुर्गा तामाङले टेलिफोनमार्फत् भनिन्, ‘उनको परिचयपत्र पट्टापत्र बनिसकेको छ तर कसलाई बुझिलिँदै आएको छ, सचिवसँग बुझ्नुपर्छ ।’
वडा कार्यालयमा भरक क्षमता भएको परिचय पत्र ‘ख’ वर्गको रहेको वडा सचिव सुवर्ण ढकालले टेलिफोन मार्फत जानकारी दिइन् । १६ सयको दरले पहिलो पटकको भत्ता ६ हजार ६ सय समेत वडा कार्यालयमा रहेको सचिव ढकालले जानकारी दिइन् ।
तर यता सरस्वतालाई थाहा छैन । उनी फरक क्षमताको ‘ख’ वर्गमा पर्छिन् । र, यस वर्गकोले महिनामा एक हजार छ सयको दरले राज्यले भत्ता दिँदै आएको छ । अहिलेसम्म कसैले पनि जानकारी दिएको छैन ।

