धरानः नेपालमा पछिल्ले २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन् ।
प्रदेश १ मा शनिबार थप १० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार प्रदेशको मोरङ, सुनसरी, झापा, खोटाङ र तेह्रथुममा गरी ३ महिला र ७ पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै, धरानबाट विराटनगर पुगेका एक चिकित्सकको पीसीआर रिपोर्ट पोजेटिभ आएको विराटनगर उपमहानगरपालिकाले जनाएको छ । उनी सप्तरी निवासी हुन् । उनी चारदिनअघि विराटनगर पुगेका थिए ।