सुनसरीः इटहरी उपमहानगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एकजना पुरुष थुनुवामा कोरोना पोजेटिभ देखिएको छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले थुनुवामा पोजेटिभ रिपोर्ट आएको बताए । ‘साउन ६ गते स्वाव संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो’, उनले भने, ‘अहिले प्रहरी कार्यालयमा उच्च सर्तकता अपनाइएको छ ।’
राजस्व चुहावट गरेको अभियोगमा गत साउन ४ गते ती व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीलाई बुझाएको थियो । उनको घर विराटनगर रहेको प्रहरीले जनाएको छ । उनलाई गोठगाउँस्थित आइसोलेसनमा लगिएको छ ।
सँगै बसेका ८ जना थुनुवाहरूको आजै पिसिआर चेक गर्ने तयारी थालिएको इलाका प्रहरी कार्यालय इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए ।