धरानः अब विद्यालयले कक्षा–११ को परीक्षा सञ्चालन गर्न सरकारी निर्णय पर्खिनुपर्ने भएको छ ।
कक्षा–११ को परीक्षा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरिएको भएपनि तत्काललाई विद्यालयले सरकारको निर्णय कुर्नुपर्ने भएको छ ।
अभिभावक तथा विद्यार्थीमा कोरोना संक्रमणको त्रास यथावत रहेको अवस्थामा विद्यालयले तत्काल परीक्षा तालिका सार्वजनिक गर्नुभन्दा सरकारको विद्यालय पुनः सञ्चालन सम्बन्धी निर्णय कुर्नुपर्ने भएको हो ।
संक्र्रमणका कारण शैक्षिक सत्र २०७७ को नयाँ कक्षा सुरु नभएकै अवस्थामा कक्षा ११ को परीक्षा तत्काल सञ्चालन नगर्न राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गरी विद्यालयलाई आग्रह गरेको छ ।
सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय लिन नसकेको अवस्थामा केही विद्यालयले कक्षा ११ को परीक्षा सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रासको वातावरण सिर्जना हुन गएकोले तत्काल परीक्षा स्थगित गर्न बोर्डले यस्तो सूचना जारी गरेको हो ।
