विराटनगरः शुक्रबार प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसारविराटनगरसहित मोरङमा मात्र ६४ जना, धरान, झापाको मेचीनगरमा र बिर्तामोडमा १–१ मा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ । शुक्रबार प्रदेश १ मा ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ ।
विराटनगर र रंगेलीमा मात्रै ६४ जना
शुक्रबार मात्र मोरङमा ६४ जना संक्रमित थपिएका छन् । जसमा विराटनगर महानगरपालिकाभित्र ३२ छन् भने पुरानो सदरमुकामा रंगेलीका २९ छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा २४ पुरूष र ८ महिलालाई कोरोना संक्रमण देखिएको छ । उता रंगेलीमा २९ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेलीमा २३ पुरूष र ६ महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेको संख्या ५
यसैबीच प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । जसमा मोरङको विराटनगर–५ का ७७ वर्षीय वृद्ध, विराटनगर–९ का ४५ वर्षीय पुरुष, विराटनगर–९ कै ५८ वर्षीय पुरुष, सुनबर्षीको ४० वर्षीय पुरुष र रंगेलीका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
प्रदेश १ को विराटनगरस्थित कोसी अस्पतालमा बिरामी भई भर्ना भएका विराटनगर–९ स्थित गुद्रीका ५८ वर्षीय पुरुषको आइसोलेसन वार्डमा भर्ना गरेर जाँच गर्ने क्रममा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले शुक्रबार बिहान उनलाई अस्पताल लगेका थिए । मृतक पुरुषलाई एक सातादेखि ज्वरो खोकीले गर्दा श्वासप्रश्वासमा समस्या आएको थियो ।