ताप्लेजङः सामूदायिक वन दिवस अवसरमा देउराली भित्री सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट मुल्याङकन भएको छ । उत्कृष्ट भएसँगै नगद १५ रुपैयाँ र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
सामुदायिक वन दिवस अवसरमा आइतबार सदरमुकाम फुङ्लीङमा आयोजित कार्यक्रमकाबीच वन समूह र व्यक्ति पुरस्कृत भएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट तीनवटा वन समूह र दुईजना व्यक्तिलाई डिभिजन वन कार्यालय ताप्लेजुङले पुरस्कृत गरेको हो । वन समूहतर्फ यस्तै लालीगुराँस सामूदायिक वन उपभोक्ता समूह मिक्वाखोला गाउँपालिका ३ लिबाङ र मुर्मुच्यान सामुदायिक वन उपभोक्ता समूह मेरिङ्देन गाउँपालिका ३ खाम्लुङ पुरस्कृत भएका छन् । सो समूहलाई क्रमशः नगद पुरस्कार १२ हजार र आठ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले जानकारी दिए ।
निजी वनतर्फ फुङ्लिङ नगरपालिका १ का गणेश मादेन लिम्बूलाई १२ हजार रुपैयाँ र प्रमाणपत्र तथा पाथीभरा याङ्वरक गाउँपालिका ३ तिरिङ्गेका खड्गबहादुर पौडेललाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । वन समूह र निजी वनका धनीमध्ये सक्रिय साथै व्यवस्थित रुपमा वन व्यवस्थापनमा सङ्लग्नलाई छनोट गरी पुरस्कृत गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यता फेकोफन ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा वन व्यवस्थापन र चुनौती विषयमा अन्तक्र्रिया गरिएको छ । स्थानीय समुदाय अर्थात उपभोक्ताको आयआर्जन र उनीहरुलाई आत्मनिर्भर बनाउने आधारको रुपमा विकास गर्ने गरी वन जंगलको संरक्षण वा व्यवस्थापनमा लाग्नुपर्ने अबको आवश्यकता भएको सरोकारवालाले बताएका छन् ।
सडक, जलविद्युत लगायतका पूर्वाधार विकास निर्माणका क्रमले वन जंगलमा क्षति पु¥याउँदै आएको हुँदा वन नीतिमा भएको व्यवस्थालाई पालना गर्नु अपरिहार्य रहेको सरोकारवालाको भनाइ छ । वैकल्पिक जमिन र नास हुनजाने एउटा रुखको सट्टा १० वटा विरुवा रोप्नुपर्ने प्रावधानलाई कार्यान्वयन गरेमा विकास निर्माणसँगै वनको संरक्षण पनि हुनेमा जोड दिइएको छ ।