धरानः त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ ।
त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो ।
‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौं,’ उनले भने, ‘तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौं ।’ त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ ।
परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए । भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि विद्यार्थी काठमाडौं आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढदै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ ।