धरानः सुन तोलाको २८ रूपैयाँ २५ र चाँदी ७५ पैसा–यो वि.सं १९८३ अर्थात् आजभन्दा ९४ वर्षअघिको मूल्य हो । धेरैले सम्झने मूल्य २०३१ सालको हुन सक्छ । त्यो वर्ष सुन ८ सय २० रुपैयाँ प्रतितोला थियो ।
२०५२ सालमा आइपुग्दा सुनको तोलाको १० हजार ५ सय ५० रूपैयाँ भएको थियो । बजारमा सुनको मूल्य केही घटेको छ । आज (आइतबार) सुनको मूल्य तोलामा २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको १३ सय २५ रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा शुक्रबार सुन प्रतितोला १ लाख ३ हजार ५ सय रूपैयाँमा आइपुग्दा जहाँ पुरानो जमानामा खरिद गरेकाहरू मख्ख होलान्, त्यहीँ किन्नैपर्ने बाध्यतामा रहेकाहरू परिमाण घटाएर विधिमात्रै पूरा गर्ने योजनामा छन् । सुनको यतिबेला आइपुगेको भाउ सर्वसाधारणमात्रै होइन व्यवसायीहरूको पनि अनुमानविपरीत निकै उच्च हो ।
२५ वर्षको अन्तरालमा मात्रै सुनको मूल्य तोलामा ९२ हजार ९ सय ५० रूपैयाँ बढिसकेको छ। धेरै पर नपुग्ने हो भने गत वर्षका तुलनामा मात्रै पनि शुक्रबारसम्म २० हजार ८ सय रूपैयाँ बढेको छ। पुरानो भाउमा किन्नेहरू यतिबेला जहाँ फाइदा कति भयो भन्ने हिसाब निकालिरहेका हुन सक्छन्, त्यहीँ किन्नैपर्ने भएकाहरू भाउ घट्ला कि भनेर बाटो हेर्दैछन् ।
लकडाउन अघि र पछिका पाँच महिनाको तुलना गर्दा पनि धेरै फरक परिसकेको छ । सन् २०१९ को मध्यतिर अमेरिका र इरानबीच तनाव रहँदाको अवस्थादेखि नै सुनको मूल्य प्रभावित हुँदै आएको थियो । कोरोना भाइरसको महाव्याधि विश्वव्यापी हुँदै जाँदा सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । यसबीच पेट्रोलियम पदार्थ र डलरको भाउमा आएको उतारचढावको असरलाई हेर्दै लगानीकर्ताहरू आफ्नो लगानीको सुरक्षाका लागि सुनतर्फ आकर्षित थिए ।

कोरोनाको महाव्याधिले विश्व बजारमा सेयर मूल्य प्रभावित हुँदा लगानीकर्ता सुनचाँदीतर्फ आकर्षित हुनु बजारको पुरानै ट्रेण्ड हो । यसपटक सन् २०२० को सुरुवातदेखि नै अन्तर्राष्ट्रिय बजारमा यस्तो देखिएको विश्लेषकहरू बताउँछन् । सुन नगदभन्दा बलियो सम्पत्ति मानिन्छ । बैंकमा धितो राखेर सजिलै ऋण पाइने भएकाले यो गहनाभन्दा पनि सुरक्षित सम्पत्तिमा पर्छ । सुन भए गाह्रो साह्रोमा गर्जो टार्न कतै ऋण सापटी मागिरहनु पर्दैन । बेच्दा नगद आउने, धितो राख्न चाहे बैंकले सजिलै लिने । त्यसैले सुन जोड्नेहरू बुद्धिमानमा पर्छन्।
सुनको मूल्य एक वर्षमा प्रतिऔंसत ५७० डलरभन्दा माथि उक्लिएको छ । २०१९ को अगस्ट ६ मा सुन प्रतिऔंस १४७२ .४० डलरमा कारोबार भएको सुन एक वर्षमा २०६२.७० पुगिसकेको छ । चाँदीमा पनि झण्डै दोब्बरको बढोत्तरी भइसकेको छ । चाँदी प्रतिऔंस १०.६४ डलरले बढेको छ ।
सुनको भाउ उकालो लागिरहँदा व्यवसायीले बैंकबाट उटाउने परिमाण घटाएका छन् । बिक्री नै प्रभावित हुँदा आयात पनि घटेको छ । सुनचाँदीको बजारमा नयाँ किनेर गहना बनाउने होइन पुराना बेच्नेहरू उत्साहित छन् । अहिले चलेको भाउका तुलनामा आधाभन्दा कम हुँदा किनेकाहरू सुन पसलमा बेच्न पुगेका देखिन्छन् । तर, व्यवसायीले रसायनको शुल्क भन्दै ५ देखि १० प्रतिशतसम्म घटाएर किन्ने गरेका छन् । बिल नै नलिइ गहना बेच्न पुग्नेबाट चलेको भाउका तुलनामा २० प्रतिशतसम्म कट्टी गरिरहेको गुनासो बिक्रेताहरू गरिरहेका छन् ।
सुनको मूल्य लगातार बढेसँगै व्यापार ठप्प बन्दै आएको रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । तोलामा लाख नाघेको सुनको भाउ अझै कति माथि जान्छ भनेर अनुमानै गर्न नसकिने अवस्था आएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बताए ।
सुन–चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले यतिबेला माग बढेपनि उत्पादन घटिरहेको बताए । ‘सन् २०१८ मा अन्तर्राष्ट्रिय बजारमा वार्षिक उत्पादन र कारोबार ४ हजार ५ सय टन रहेकोमा कोभिडका कारण अहिले घटेर ३ हजार ५ सय टनमात्रै भएको छ,’ उनले भने ।
उनका अनुसार यी पाँच कारणले सुनको मूल्य बढिरहेको छ ।
–विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लगानीकर्ताहरू अन्य क्षेत्रभन्दा सुनमा लगानी गर्न आकर्षित देखिएका छन् ।
–अमेरिका र चीनको ब्यापार युद्ध ।
–सुनको भन्सार शुल्क बढ्नु ।
–विश्व बैंकहरूको मनिटरिङ गर्ने संस्थाले नोट निष्काशन गर्न २०२१ देखि सुनलाई महत्व दिनु ।
–अन्तर्राष्ट्रिय बजारमा सुनको उत्पादनमा कमि आउनु ।
सुन–चाँदीको मूल्य बढ्नुको मुख्य कारण हो, कोरोना भाइरस । यसैका कारण अन्य क्षेत्रका व्यापार–व्यवसाय ठप्प भएको छ । विश्व अर्थतन्त्र धरासायी बनेको छ । जसको प्रत्यक्ष असर सुन–चाँदी व्यवसायमा परेको छ । अन्य क्षेत्रमा लगानी गर्दा आफ्नो पुँजी सुरक्षित नभएका कारण लगानीकर्ताहरू सुनतर्फ लगानी गर्न आकर्षित भएको शाक्यले बताए ।
सुनको मूल्य बढ्नुको अर्को कारण नेपाल सरकारले आर्थिक वर्ष २०७७–०७८ को बजेटमा सुनको भन्सार शुल्क बढाउनु पनि हो । गत आर्थिक वर्षभन्दा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ रहेको सुनको भन्सार शुल्क बढेर प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ पुगेको छ । यो आर्थिक वर्षमा सुनको भन्सार रेट १५ सय रुपैयाँले बढेको हो ।