Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई नतिजापछि धरानका विद्यार्थीको प्रतिक्रिया

हाम्रो कोशी आवाज
भाद्र ३ २०७७, बुधबार
एसइई नतिजापछि धरानका विद्यार्थीको प्रतिक्रिया

धरानः यसपटक कोरोना महामारीका कारण विद्यार्थीले एसइई लेख्न पाएनन् । चैतमा हुने भनिएको एसइई परीक्षा तयारी गरिसकेपछि अन्तिम समयमा आएर एकदिनअघि नै रोकियो । कोरोनाका कारण २०७६ साल चैत ६ गते हुनुपर्ने एसइई परीक्षा अघिल्लो दिनमात्र स्थगित भएको हो । परीक्षाको तयारीमा जुटेका विद्यार्थी सबै घर फर्किए, अन्त्यमा परीक्षा बोर्डले आन्तरिक मूल्याङ्कनकै नतिजालाई आधार बनायो । र आन्तरिक मूल्याङ्कनबाटै परीक्षाको नतिजा पनि निकाल्यो । धरानका विद्यार्थीले प्रतिक्रिया दिन्छन्–यसपटक नतिजा आयो कि आएन जस्तै भयो, खासै मन खुशी पनि भएन । भनौं एसइईको नतिजा प्रकाशन भएपछि मुलुककै ध्यान त्यता मोडिनुपर्ने त्यो समय केवल इतिहासमात्र बन्यो ।
धरानकी विनिशा राई यसपटक ग्रेड ‘ए’ ल्याइन् । यसपटकको एसइई नतिजा आउँदा खासै खुशी नलागेको बताउँछिन् । ‘केही वर्षअघि दिदीहरूको पालामा परीक्षाको नतिजा आउँदा क्या खुशी हुँदैन थिएँ, हामी पनि सानै भएपनि खुशीसँगै रमाउँथ्यौं, खुशीसँगै बाँडिएका उपहार खाएर रमाउँथ्यौं’, उनले भनिन्, ‘तर यसपटक त्यस्तो रहेन, नतिजा आएको हो कि के हो थाहा नभएजस्तै भयो ।’

विद्यालयको आन्तरिक मूल्याङ्कनबाट अपेक्षा गरेको ग्रेड ‘ए’ पाउनेमध्येकी धरानकै सरकारी विद्यालयकी अप्सरा खत्रीले खुसी मन नभएको बताइन् । ‘ए ग्रेड आशा राखेको थिएँ, आयो तर खुशी छैन, अहिले साथीभाइ वा अन्य कोहीसँग खासै भेट भएको छैन, फेस पनि गर्नुपर्ने हुनसक्ला ।’ उनले भनिन् ।
उनले आत्मविश्वास भने घटेको बताइन् । ‘एसइई परीक्षा नै भएको भएपनि नतिजा राम्रै आउँथ्यो किनभने म कक्षाको पहिलो विद्यार्थी थिएँ’, उनले भनिन्, ‘तर राम्रै नतिजा आएपनि यताउताका मानिस अर्थात् जान्नेबुझ्ने सरदेखि अन्यले पनि यसपटकको नतिजाको खासै मूल्य रहेन भनिदिँदा आफूमा आत्मविश्वास घटेको साथै ‘हयारेसमेण्ट’ भएको अनुभव भएको छ ।’ धरान नगर बाल सन्जालकी अध्यक्ष समेत रहेकी अप्सराले यसरी बालबालिकालाई हतोत्साहित बनाउने खालका गतिविधि नगरिदिन अनुरोध गरिन् । उनले सामाजिक सन्जालमा समेत अनेकौं तर्क बिर्तक भइरहँदा आत्मविश्वास घट्ने बताइन् ।
विनिशाले पनि नतिजाको मूल्य खासै छैन भनिदिँदा चित्त दुखेको सुनाइन् । ‘कस्तो पनि सुन्नुपर्छ भने, यसपटकको नतिजाको खासै मूल्य छैन, त्यतिकै पास भएका त हौ नि भनिदिन्छन्’, उनले भनिन्, ‘यसले गर्दा मन कुँडिदोरहेछ ।’
धरानमै यसअघि इन्ट्रान्स परीक्षाका लागि फर्म समेत भरिसकेकी धरानस्थित एक विद्यालयमा पढ्ने सिमरन राईले यसपटकको परीक्षामा खासै मन खुशी नभएको बताइन् । ‘जोपनि पास भइहालिन्छ नि के आत्तिन्छौ भनेर सबैले भन्न थालिसकेका थिए, त्यही भएर पनि परीक्षामा पास नै भएपनि खासै खुशी भइएन’, उनले भनिन्, ‘के गर्नु यसपटकको परीक्षा नै त्यस्तै ।’

उनले अहिले जताततै समाचार पनि यसपटक त जिपिए बढेछ नि भनेर व्यङ्ग्य गरिदिँदा आफू झनै आश्चर्यमा परेको अप्सरा बताउँछिन् । ‘यसपटक त झनै नरमाइलो भयो, हुनचाहिँ के भयो कुन्नि तर जताततै सुनिन्छ–स्कुलले नै नम्बर दिएपछि त जिपिए बढ्ने भइगयो नि, विद्यार्थी पनि सजिलै पास भइहाल्ने भए नि आदि इत्यादि ।’
धरानकै सुविन श्रेष्ठले तिमीहरूलाई यसपटक कति सजिलो भयो नि, एसइई पनि दिनुपरेन, नतिजा पनि स्कुलले दिएको हो नि भन्नेजस्ता समस्या झेलिरहेको बताउँछन् । ‘तिमीहरूले जति जिपिए ल्याएपनि फुर्ति नलगाए हुन्छ भन्छन्’, उनले भने, ‘त्यही भएर पनि खासै खुशी छैन मन ।’ कोरोना महामारीमै भएपनि परीक्षा दिन पाइन्छ होला भन्ने आशा लिएका उनले परीक्षा दिन नपाएको तनाव र अहिले मूल्य नै नभएको तर्कले केही ‘हयारेसमेण्ट’ भने बढाएको बताए ।
कतिपय सर अर्थात् आफैलाई पढाएका गुरुवर्ग, छरछिमेक, अघिल्लो पुस्ताका दाजु, दिदीहरूले पनि अहिलेको एसइईको खासै मूल्य छैन त भनेर खिसीटयुरी समेत गर्ने साथै आफुभन्दा जुनियर भाइबहिनीले तिमीहरू त ‘लक्की’ भनिदिँदासमेत नरामाइलो फिल भएको बताए । ‘एकजना मलाई पढाउने गुरु नै हुनुहुन्छ, उहाँले नै जति नै राम्रो नतिजा ल्याएपनि केही फरक पर्दैन भनिदिँदा नमाइलो फिल भइरहेको छ,’ ती एक विद्यार्थी थप्छन्, ‘अन्यले घुमाइफिराइ शिक्षकले मनोमानी गरेर नम्बर चढाएपछि कसको के लाग्छ समेत भन्न भ्याइसकेका छन भने केहीले आफ्नै मिहिनेत र बलबुताले नम्बर ल्याएको हो र समेत भन्छन् । ’ पञ्तिक्रिया जनाउने धराने विद्यार्थीले यसरी ह्यारेसमेन्ट नगर्न सुझाउँछन् । ‘खासमा कोरोनाको बेला यस्तै हो, तिमीहरूले यस्तो बेलामा जे जति गरयौं रामञे गरयौं, आगामी दिन अर्थात् कक्षा–१२ मा पुगेर देखाउने हो सम्म भनिदिँदा भइगयो नि’, अप्सरा भन्छिन् ।

हामीले भन्न नसकेको कुरा
यो त कक्षा १० को अन्तिम परीक्षा मात्र हो । कक्षा–१२ मा लिइने परीक्षा छँदैछ । राष्ट्रिय मानकका रुपमा लिइने सो परीक्षाले विद्यार्थीको सक्कलीरुप देखाइहाल्छ । तसर्थ अहिलेको अहिल्यै विद्यार्थीको मानमर्दन हुने गरी अभिव्यक्ति दिन तथा विद्यार्थीको हौसलालाई दुरुत्साहन गर्ने गरी टिप्पणी गर्न खासै आवश्यक छैन । प्राध्यापक राजेन्द्र शर्मा भन्छन्, ‘मैले पनि सुनें विद्यार्थीको मानसिकता परिवर्तन गरिदिने अनि हतोत्साहित पार्दछन् भनेर, यसो गरिदिँदा विद्यार्थीको करिअरमै असर पुग्छ ।’
विद्यार्थीले पाएको नतिजालाई सहर्ष स्वीकार्नु नै अहिलेको बलियो पक्ष रहेको उनी बताउँछन् । उनले प्राप्त गरेको नतिजाको उपलब्धि भएपनि नभएपनि विद्यार्थी र अभिभावकमै पनि कुनै प्रकारको खुशी र सन्तुष्टिको अनुभूति भएको नदेखिएको बताउँछन् । ‘नतिजाले कुनै रौनकता, कौतुहलता र आकर्षण देखाएन भनौं अभिभावक र विद्यार्थीहरुलाई सन्तुष्टि पार्ने अस्त्र बन्न सकेन तर पनि यो महामारीको समय भनेको खुशी हुने र खुशी पार्ने समय हो ।’

विद्यार्थीहरुले प्राप्त गरेको नतिजा सर्वत्र स्वीकार्न गर्न सकिने र सम्मानित हुनसक्ने वातावरण बनाइनुपर्ने उनको धारणा छ । ‘परीक्षा सञ्चालन नभएको वा यो वा त्यो बहानामा कुनै विद्यार्थीलाई यो नतिजाका विषयमा कहिल्यै पनि अपहेलित नबन्ने वातावरणको सुनिश्चितता राज्यले दिन सक्नुपर्दछ । अन्यथा त्यो अपहेलना, अविश्वास र असन्तुष्टि नतिजा सिफारिस गर्ने विद्यालयको बन्दछ अनि प्रमाणित गर्ने एकाई एवं बोर्डको पनि बन्दछ भन्नेमा हामी स्पष्ट हुन जरुरी छ ।’ उनले थपे ।
उनले अहिले पनि यस्तो भ्रम चिर्न नसकेकै कारण यस्तो भइरहेको बताए । ‘विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा–१२ हो भन्नेसम्म बुझाउन सकिएन, यस्तो कुरामा जोड दिँदै सरकारले पनि कानुनी व्यवस्था गरी कार्यान्वयन गर्नुपर्दछ ।’

प्रकाशित मिति: भाद्र ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend