Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइईमा मैले ल्याएको जीपीएलाई मजाक नबनाइयोस् !

हाम्रो कोशी आवाज
भाद्र ४ २०७७, बिहिबार
एसइईमा मैले ल्याएको जीपीएलाई मजाक नबनाइयोस् !

सबै गुरूहरूमा अभिभादन,
आदरणीय सरोकारवालाज्यूहरूमा नमन,
एसईई नतिजा प्रकाशित भयो । मेरो जीपीए मैले मेहनत गरे जति नै आयो । म खुसी छु । मेरो योग्यताको सही पहिचान भयो । चार पटक सम्म विद्यालयले सञ्चालन गरेको परीक्षा र हरेक शनिबारे परीक्षामा म सँधै सामेल भएको र राम्रो गर्ने कोशिश गरेको थिएँ । परीक्षा दिनको लागि अघिल्लो दिन केन्द्रमा पुगेर भोलिको लागि सबै तयारी सकेको थिएँ । तर परीक्षा रोकिएपछि सोही दिन घर फर्किनको लागि म सँग दिनको समय बाँकी थिएन । परीक्षा कोभिडको कारणले रोकियो । मेरो तयारी अहिलेको जीपीएको लागि नै थियो । हामी परीक्षा नदिई नै जीपीए आउँछ भनेर वर्षभरि पढ्नै नपढी, मेहनत नगरी, विद्यालय नगई बसेका पनि होइनौं । हामी परीक्षा दिनका लागि नै वर्षभर संघर्षरत थियौं ।
मन नै कमजोर भयो भने हामीले केही गर्न सक्दैनौं । विश्वमा फैलिएको महाब्याधि कोरोनाको कारण धैरै कुराको चलेको पद्धती रोकिएर नयाँ तरिका बाट काम भएका छन् । त्यसैको परीणाम हाम्रो मूल्याङ्कन गर्ने तरिका फेरिएको हो, हाम्रो नतिजाको जीपीए फेरिएको होइन जस्तो लाग्छ मलाई ।
हाम्रा आनीबानी, हाम्रो क्षमता, विश्वको परिस्थिति, वास्तविक कुरा हाम्रा गुरूहरूलाई थाहा हुन्छ । तपाइहरूको एसईई दिने छोरा, छोरी घरमा हुनुहुन्छ भने पक्कै तपाइहरूलाई नि यस बारेमा थाहा छ । मेरो/हाम्रा गुरू अत्यन्तै जिम्मेवार, ठीक-बेठीक छुट्टाउन सक्ने, मूल्याङ्कन गर्न सक्ने, आफ्नो भन्दा नि हाम्रो भविष्यको चिन्ता गर्ने मैन बत्ती हुन् ।
हाम्रा हेडसर, अति नैतिकवान, योजनाकार, सिङ्गो विद्यालयको भविष्य, दुरदृष्टिवान र न्यायका मूर्ति हुन् । उनी आफन्तवाद, चाकडीबाज, भनसुन‍वाद, जातीवाद अरू के-के वादका उपज हैनन् । यो उनीहरूको मूल्याङ्कन हो । मैले मागेको हैन र मैले लिएको जीपीए केटाकेटीपनले पक्कै दिएको पनि हैन । एउटा गुरुले आफूले पढाएको विद्यार्थीको क्षमतामा कदर गर्नु पाप हुन सक्तैन । बरू यो नतिजाले विद्यार्थीको गुणस्तर भन्दा शिक्षक र विद्यालयको गुणस्तरको कुरा उठ्छ भनेर कतै कतै म जस्ता विद्यार्थीहरू गलत निर्णयको सिकार पो बन्न पुगे कि भन्ने मलाई शंका पो लाग्न थालेको छ । फेरी मेरो मनको आफ्नै कुरा, कतै आफ्नै शिक्षक र विद्यालयको गुणस्तरमा कम विश्वास पो भयो कि ? त्यसैले मेरो जीपीएलाई मजाक नबनाइयोस् । अरू देशका परीक्षा प्रणाली पनि हेरियोस् । अरू पनि होइन, हाम्रो देशकै टीयूको सेमेष्टर परीक्षामा ४० विषय शिक्षकको मूल्याङ्कन र ६० बाह्य मूल्याङ्कनको छ भन्ने सुनेको छु । मेरो भविष्यको डिजाइन मैले गर्नुपर्छ ।
त्यसैले :
म कक्षा ११ मा भर्ना भएर यो जीपीएको विश्वसनियता बढाउँछु र वैधता प्रदान गर्दछु ।
मेरो भविष्य यो भन्दा अझै ठूलो छ, अझै बलियो छ र अझै राम्रो छ । विश्वास दिलाउन चाहन्छु ।
म एउटा ‘जीवन व्यवस्थापन फाइल’ तयार गर्छु, हरेक क्यालेण्डरका पाना परिवर्तन हुँदा म पनि परिवर्तन हुन्छु ।
म मेरो लक्ष्य प्राप्ति नहुँदासम्म अल्छी गर्दिनँ, बहाना पार्दिनँ किनकि मेरो सपना मर्दछ, मेरो भविष्य समाप्त हुन्छ ।
जति सफल छ त्यतिनै असफल छ भनेर बुझेको थिएँ तर अहिले जति सफल छ त्यतिनै संघर्ष गर्नुपर्छ भनेर बुझें ।
हामी तपाईंहरूका नजरमा (नकारात्मक कमेन्ट गर्नेका लागि)कमजोर भयौं तर विश्वास गर्नुस् मेरो डायरीबाट ‘कमजोर’ शब्द नै झिकिदिन्छु ।
अगााडि पनि धैरै पटक परीक्षा दिएका छौं, अब पनि दिने छौं । कक्षा ११ को परीक्षामा तपाईंले नि मलाई बधाई भन्न पाउनु हुनेछ । म विश्वास दिलाउन चाहन्छु ।
म कक्षा ११ मा भर्ना हुदाँ बन्नु हुने मेरा (मैले पाउने)आदरणीय प्राचार्य ज्यू,
कक्षा ११ मा अध्यापन गराउने अति तिखारिएका, अनुभवी शिक्षक प्राचार्य ज्यूले दिनुहुन्छ । यो वा त्यो बहानाबाजीमा कक्षा लत्ताउने, मलाई उत्प्रेरणा, हौसला प्रदान गर्न नसक्ने कोही मेरा त्यस्ता गुरु हुने छैनन् भन्ने मेरो विश्वास छ ।
‘राम्रो, हाम्रो’ भन्ने मेरो शिक्षाको नारा हो, जसले मेरो भविष्य सुनिश्चित हुन्छ । त्यो वातावरण तयार गरिदिनुस् ।
अतः मेरो जीपीए मेरो क्षमताकै छ । शंका नगर्नुस् । बरू आगामी भविष्यको लागि मैले के पढ्नु पर्ला ? मेरो करियर मेलै कसरी निर्माण गर्नुपर्ला ? म गुरुहरू जस्तो असल र विवेकी कसरी बन्ने होला ? पाठ्यक्रमले राखेको देश समर्पित उद्देश्य मैले कसरी पूरा गर्ने होला ? गुणस्तरीय शिक्षा भनेको यो हो ? मैले बुझ्ने भाषामा यसको सुचाङ्कहरू मलाई बुझाइदिनुस्, म त्यही गर्छु र त्यही पढछु । फेरी भन्न मन लायो, ‘मेरो जीपीए मेरो क्षमताकै छ ।’
(परिचय: विद्यार्थीको मनको कुरा अध्यापक ज्ञवालीले तयार पारेका हुन्)

प्रकाशित मिति: भाद्र ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend