बिर्तामोडः झापाको कमल गाउँपालिका–५ मा नेपालकै दोस्रो पापड उद्योग सञ्चालनमा आउने भएको छ ।
स्थानीय ५ जना युवाहरु मिलेर सञ्चालनमा ल्याउन लागिएको उद्योग निर्माणका लागि केहीदिनअघि शिलान्यास समेत भयो । स्थानीय कमल ओझा, उनकी आमा सीतादेवी ओझा, सुमन कार्की, रामबहादुर थापा बाबुराम, गोविन्द ओझा मिलेर सञ्चालनमा ल्याउने उद्योगले ३ करोड नेपालीलाई आफ्नै देशको पापड खुवाउने उद्धेश्य राखेको छ ।
उद्योगले दैनिक ५ हजार प्याकेट पापड उत्पादन गर्ने र आफूसहित १५ जना बढी युवाहरुलाई प्रत्यक्ष रोजगारी दिने अर्का युवा ब्यवसायी कमल ओझाले बताए । कमल आफै २ वर्ष कोरिया बर्सेर फर्किएका हुन् । ५ वर्षको करार अवधी भए पनि नेपालमा नै पसिना बगाउँने उद्देश्यले उनि नेपाल फर्किएका हुन् । उनले भने, ‘विदेशको जस्तो खटाई गर्ने हो भने यही केही गर्न सकिन्छ भन्ने लाग्यो र कोरियाको रोजगारी त्यागेर फर्किएँ ।’
अर्का युवा सुमन कार्की पनि बेरोजार थिए तर उनीसँग भारतको सिक्किममा पापड उद्योगमा १ वर्ष काम गरेको अनुभव छ । सोही अनुभवलाई यही आफ्नै उद्योगमा प्रयोग गरेर रोजगार बन्ने उनको लक्ष्य छ । सोही समूहका अर्का युवा गोविन्द ओझा पनि विदेश जाने चक्करमा लामो समयदेखि भौतारिरहेका थिए । पासपोर्ट बोक्दा बोक्दै थाकेका उनि अब नेपालमा केही गर्ने सोचका साथी उद्योग सञ्चालनमा लागेका छन् । अर्का युवा रामबहादुर थापा (बाबुराम) लाई पनि केही नयाँ काम गर्ने र रोजगार बन्ने योजना थियो ।