Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तीजः घरमै रमाउँदै महिला

हाम्रो कोशी आवाज
भाद्र ५ २०७७, शुक्रबार
धरानमा तीजः घरमै रमाउँदै महिला

धरानः धरानमा महिलाहरू घरमै तीज मनाएर चित्त बुझाउँदै आएका छन् । कोरोनाको कहरसँगै घरमै तीज मनाउन बाध्य भएका हुन् । कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको छ । लकडाउनका कारण तीव पर्व दिदी बहिनीहरुले राम्ररी मनाउन पाएनन् । टाढा माइती हुनेहरु त माइती जान पनि पाएनन् । दर पनि गत वर्ष जस्तो खान पाएनन् । दर भनेको दह्रो गरेर खाने वा मिठो मसिनो टन्न खाने हो । बजार बन्द छ । खाद्यान्न, मिठाइ र मासु पसल पनि राम्ररी खुलेको छैन ।
शहर बजारमा बस्नेहरुलाई त खासै समस्या नहोला । तर गाउँ ठाउँमा त बस्नेहरुलाई समस्यै छ । खोजे जस्तो चिजविज पाइँदैन । विगतका वर्षहरुमा महिनौंअघिदेखि हर्षोउल्लासका साथ मनाउने गर्दथे । तर यसवर्ष धेरैको तीज खल्लो र निरस बनेको छ । यस्तो अवस्थामा पनि जे जस्तो सकिन्छ त्यसरी नै मनाएको लायन्स क्लव अफ बुढासुब्बाकी च्याप्टर प्रेसिडेन्ट अम्विका घिमिरे आचार्यले बताइन् ।
उनले धेरै दिदीहिनीहरुको तीजमा हरियो चुरा, रातो पोते, छड्के तिलहरी, साडी चोलो साथै फेसनयुक्त पहिरनमा सजिएर छमछमी नाच्ने धोको पनि पूरा गर्न नपाएको दुःखेसो गरिन् । ‘कोरोनाको महामारी नभएको भए यतिबेला सबै तीजमय हुने थियो । घरघरमा मात्र होइन चोकचोकमा अनि संघ संस्था, समूह र राजनीतिक पार्टीहरुले पनि नाच्दै, रमाउँदै तीज मनाउँथे ।’ उनले भनिन्, ‘तर यसपटक महामारीले सबै रमाउन पाएनन् ।’
तीज सनातन धर्मावलम्वी खस महिलाहरुको विशेष पर्व हो । तर सबै जातजाति र धर्मालम्बीहरुले समावेशी भएर तीज पर्व मनाउँछन् । चोकमा समूहमा तीज मनाउनेहरुले पनि यस वर्ष घरभित्रै मनाएर चित्त बुझाउनु परेको धरान–१८ की मेरिना उपाध्यायले बताइन् ।
पौराणिक कथाअनुसार पार्वतीले महादेव पति पाउन घर समेत त्याग गरेर निराहार वत्र्त बसेपछि महादेव पति पाउन सफल भएकी थिइन् । त्यसै दिनदेखि तीज पर्व मनाउन शुरु गरिएको भन्ने कथन छ । तीज पर्व भाद्र शुक्ल द्वीतिया देखि ऋषी पञ्चमी सम्म ४ दिनसम्म मनाइने गरिन्छ । पहिलो दिन दर खान्छन् । दोस्रो दिन ब्रत बस्छन् तीज मनाउँछन् । तेस्रो दिन गणेश, शिव पार्वतीको पूजा गर्छन र चौथो वा ऋषि पञ्चमीमा सप्तऋषिहरु सहित ऋषिपत्नीहरु आराधना गरिन्छ ।
अविवाहितहरुले असल पति पाऊ भनी यो ब्रत बस्छन् । विवाहितहरु पतिको दीर्घायू र परिवारको सुस्वास्थ्य र समृद्धिका लागि यो ब्रत वस्ने गर्दछन् । तीजको अघिल्लो दिन दर खाने दिन हो । दरमा विभिन्न मिठाइ, खीर, ढकने, कुरौनी, फलफूल, आलुदम लगायत अडिला कुराहरु सेवन गर्ने चलन छ । विवाहित महिलाहरु माइतीको निम्तोमा दर खान पुग्दछन् । विवाह भएर गएको घरमा भोग्नु परेको दुख पीडा गितकै माध्यमबाट पोख्छन, नाच्छन्, गाउँछन् र रमाइलो गर्दछन् अनि नयाँ स्फुतिका साथ घर सम्हाल्न फर्किन्छन् । माइत जान नपाएकाहरु चेलीहरु आफ्नो दुःख पीडा पनि गीतबाटै पोख्ने गर्दछन् ।
तीज एउटा संस्कार मात्र नभएर सभ्यता पनि हो । यसलाई नारीवादी चाडको रुपमा पनि लिइन्छ । तीज पर्र्व महिला स्वतन्त्रता र अधिकारको दृष्टिकोणले पनि लिन थालिएको छ । हिजोका दिनहरुमा तीज र दरखाने चलन तडक भडक, खर्चिलो र भड्किलो भयो भन्दै आलोजना हुदै आएको थियो । पर्व यस वर्ष त राम्ररी मनाउन पनि समस्या भएको छ । महिलाहरुले आफ्नो पति र परिवारको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन । यसमा पुरुषहरुले पनि आफ्नो पत्नी र परिवारप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्दछ । (लेखकः धरानस्थित कृति टेलिभिजनका निर्देशक हुनुहुन्छ)

प्रकाशित मिति: भाद्र ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend