काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७२ हजार ७२ विद्यार्थी मध्ये हजारौं विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २८ साउनमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसइईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेको हो ।
परिषद्को निर्णय अनुसार एसइईमा तीन विषयमा ‘डी प्लस’ ल्याएर मात्रै पनि पुग्दैन । जीपीए पनि १.६ ल्याउनै पर्दछ । यो वर्ष यी दुवै मापदण्ड पूरा नगर्ने विद्यार्थी करिब २६ हजार छन् । कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित पढ्नका लागि भने जीपीए १.६ सँगै अंग्रेजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनुपर्छ ।
२०७२ सालमा ग्रेडिङ प्रणालीमा गएपछि कुनै पनि विद्यार्थीको लब्धांकपत्रमा ‘अनुत्तीर्ण’ लेखिदैन । ९९ वटा प्राविधिक विद्यालयले भने २०७१ सालदेखि नै एसइईका विद्यार्थीका लब्धांकपत्रमा अनुत्तीर्ण लेख्न छोडेको थियो । एसइई उत्तीर्णको घरमा अविरजात्रा र अनुत्तीर्णको घरमा मलामी जाने अवस्था आउन नदिन अनुत्तीर्ण नलेख्ने ग्रेडीङ प्रणाली अपनाइएको थियो । तर परिषद्ले न्यूनतम मापदण्ड तोकेपछि भने कम जीपीए पाउने विद्यार्थी कक्षा ११ पढ्न नपाउने भएका छन् । उता शिक्षाविद्ले भने यो निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।
एसइईमा यसरी १० हजार भन्दा धेरै विद्यार्थीको नतिजा बिग्रियो
यस्तै, परीक्षाका लागि फारम भरेका मध्ये १० हजार ९ सय ८ विद्यार्थीको प्राप्ताङ्क विद्यालयहरुबाट प्राप्त नभएको बोर्डले जनाएको छ । परीक्षाका लागि ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले फारम भरे पनि ४ लाख ७२ हजार ७८ विद्यार्थीको मात्रै प्राप्ताङ्क प्राप्त भएको बोर्डले जनाएको छ । यसअघि विद्यालयले आन्तरिक मूल्याँकनका आधारमा पठाएको नम्बरलाई अक्षराँकनमा बदलेर बोर्डले प्रमाणिकरण गर्ने जिम्मेवारी तोकिए पनि पुरानै शैलीमा नतिजा सार्वजनिक गरिएको हो ।
तर बोर्डले कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । सो विवरण विद्यार्थीले विभिन्न वेभसाइट र एसएमएसबाट थाहा पाउन सक्ने छन् । आफ्नै विद्यालयले पठाएको विवरणलाई विद्यालयबाटै हेर्न मिल्ने गरी सार्वजनिक गर्न छाडेर पुरानै शैली अपनाउको भन्दै बोर्डको आलोचना भएको छ ।
गत वर्ष प्रदेशगत रुपमा छुट्टाछुट्टै सार्वजनिक गरेको नतिजा अनुसार १७ हजार ५ सय ८० विद्यार्थीले ३।६ देखि ४ जीपीए ल्याएका थिए । पोहोर ४ लाख ७५ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । २०७५ सालको नतिजा अनुसार नियमित तर्फ ५८ हजार ६ सय ८८ विद्यार्थी कक्षा ११ पढ्न वञ्चित भएका थिए । अर्थात् ती विद्यार्थीको जीपीए शुन्य दशमलब ८५ देखि १ दशमलव २ शुन्य आएको थियो । त्यो वर्ष परीक्षामा जम्मा ४ लाख ६३ हजार ६ सय ८९ जना सहभागी थिए ।
यस वर्ष नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडबृद्धि परीक्षा सञ्चालन सम्बन्धी कार्य हुने छैन । व्यक्तिगत विवरणमा त्रुटि भएको छ भने ३५ दिन भित्र जिल्लास्थित शिक्षा तथा समन्वय इकाईमा निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ ।