धरानः पाठ्यक्रम विकास केन्द्रले तय गरेको कक्षा ११ मा भर्नाका लागि नयाँ आधारले यस्तो व्यवस्था गरेको हो ।
केन्द्रले तय गरेको भर्नाका आधार अनुसार साधारण तर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्नका लागि औसत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।
यसअघि कक्षा ११ मा विज्ञान संकाय पढ्न न्यूनतम औषत जिपिए २ ल्याउनैपर्ने व्यवस्था थियो । यस्तै, विज्ञान र गणितमा सी प्लस तथा अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ग्रेड ल्याउनुपर्ने साथै, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका अन्य विषय अध्ययन गर्नका लागि जिपिए १.६ र अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस ल्याउनुपर्ने केन्द्रले जनाएको छ ।
प्राविधिक तथा व्यवसायिक शिक्षा र परम्परागत शिक्षा अध्ययनका लागि भने पुरानै भर्नाको आधारलाई केन्द्रले यथावत राखेको छ । कोरोनाको संभावित संक्रमणलाई ध्यानमा राखी गत चैत्रमा सरकारले एसइई परीक्षा स्थगित गरेको थियो । स्थगित परीक्षाको प्रभाव शैक्षिकसत्रमा पर्न नदिने भन्दै सरकारले गत जेठमा एक कार्यविधि पारित गरी विद्यालयलाई नै विद्यार्थीको मूल्यांनक गर्ने जिम्मेबारी प्रदान गरेको थियो ।
विद्यालयले गरेको मूल्यांकनलाई वैधानिकता दिन राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको प्राप्तांकलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेपछि केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ आधार तय गरेको हो ।