अहिले धेरै ठाउँमा निषेधाज्ञा र लकडाउन जारी छ । अहिले सामाजिक सञ्जालमा पनि लकडाउनले भोकभोकै मार्ने अनि संक्रमण बढाइरहने भन्ने जनगुनासो सुन्दै आउन थालिएको छ । लकडाउन गर्ने हो भने १०० प्रतिशत खाल अर्थात् कसैलाई पनि हिँडडुल गर्न नदिने खालको हुनुपर्छ भन्ने आवाज उठ्न थालेको छ । तरपनि यसतर्फ कसैको ध्यान जान सकेको छैन । लकडाउन पनि छ तर लखरलखर दौडिने हामी भोकभोकै पनि मरिरहेका छौं, संक्रमण पनि फैलाइरहेका छौं । भनौं लकडाउनमा कडाइ हुन सकिरहेको छैन, काम गर्नेले काम गरिसमेत खान पाइरहेको अवस्था छैन ।
हामी अटेरीः
पाठ सिकेर पनि हामी अटेरी बनिरहेका छौं
भनौं हामी पाठ सिकेर आफूलाई सुधार्ने सन्दर्भमा भने हामी विद्यालयका अटेरी विद्यार्थीहरू जस्ता देखिएका छौं । विश्वलाई आतंकित बनाएको कोरोनाले हामीलाई अटेरी बन्ने छुट दिएको छ । महामारी अहिले मानवजातिकै लागि ठूलो चुनौती बनिरहेको छ । यस भाइरसको संक्रमणले भौगोलिक सीमा, जातजाति, वर्ग र धर्म नभनी सबैलाई प्रताडित बनाएको छ । हालसम्म विश्वभर दुई करोड ३४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यसबाट के प्रस्ट हुन्छ भने कोरोना भाइरसको संक्रमण विश्वको कुनै भागमा अस्तित्वमा रहुञ्जेल यसले दुःख दिइरहने छ ।
नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै गएको छ । धरान पनि अछुतो छैन । संक्रमणको दर बढ्नुले थप संकटको स्थिति आउन सक्ने पूर्वाभास हुन थालेको छ । हामीले गर्न सक्ने भनेकै संक्रमण थप फैलिन नपाओस् भनेर पूर्वसतर्कता अपनाउनेमात्र हो ।
सरकारले संक्रमितलाई व्यवस्थित आइसोलेसनमा राखेर रोगमुक्त हुन र संक्रमण समुदायमा फैलन रोक्ने उपाय अवलम्बन गर्न नसक्दा संक्रमण दर बढ्दै गएको छ । पछिल्लो समय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यापारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, मन्त्री, सांसद्, जनप्रतिनिधि, सरकारी निकायका कर्मचारी तथा सर्वसाधारण कोही पनि सुरक्षित देखिएका छैनन् । चार महिना लामो लकडाउन खुलेयता कोरोना नै अन्त्य भएजसरी मानिसहरुको अनावश्यक भीडभाड र भेटघाट तीव्र भयो । यसमा कसैले न्यूनतम सावधानी समेत अपनाएनन् ।
त्यसमाथि सार्वजनिक यातायात खुलेसँगै न सीमा नाकामा कडाइ गरियो न संक्रमित क्षेत्रबाट आउनेहरुकै निगरानी । यस विषम परिस्थितिमा हामी सबै एकजुट भएर कोरोनाविरूद्ध लड्नुपर्नेमा यस भाइरससँग दिनहुँ निहुँ खोज्दै लखरलखर हिँडिरहेका छौं । कोरोना कहरले बहुआयामिक क्षेत्रमा प्रभाव पारिसकेको यथार्थलाई बुझेर पनि बुझपचाउँदा कोरोना व्यापक हुँदै गएको छ । अहिले हामीले बुझेर पनि बुझ त पचाइरहेका छैनौं ? यो हिसाबले हेर्दा हामी अलि बढी अटेरी पो भयौं कि अर्थात् अटेरीपन पो देखाइरहेका छौं कि सोंचनीय विषय हो यो ।
स्थानीय प्रशासनले बिनाकाम घरबाहिर ननिस्कन, निस्कनै परे मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न, बजारमा किनमेल गर्दा अनिवार्य सामाजिक दूरी कायम राख्न, अनावश्यक भीडभाड नगर्न पटकपटक सूचना जारी गर्दै आएको छ । तर, सर्वसाधारणले ती सबै सावधानीका उपाय प्रहरी स्वयंकै लागि जस्तो गरेर अटेरी गर्दै आएको आभाष छ नै । मास्क चिउँडोमा लगाउने वा हातमा बाँध्ने, सामाजिक दूरीको पर्वाह नगर्ने, भीडभाड गर्ने, लुकीछिपी भोजभतेर र पार्टीमा रमाउने गतिविधि भइरहेका छन् । भन्ने हो भने हामी साह्रै अटेरी भयौं, आफै नसुध्रिने हो भने कोरोना संक्रमण दर बढेर स्थिति भयावह हुन सक्छ भनेर सोच्ने बेला हो यो ।
पहिला पहिला वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूको नजिक रहेका व्यक्तिमा संक्रमण देखिने गरेको थियो । तर अहिले समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको चिकित्सकले बताउँदै आएका छन् । तर पनि हामी अझै अटेरी नै बढी छौं । धरानको मात्रै कुरा गर्ने हो भने हुन त अहिले सर्वसाधारणले नै भन्दै आएका छन्– लकडाउन कि लुजडाउन । यदि लकडाउन हो भने सबैलाई कडाइ हुनुपरयो नत्र लुजडाउनले सबैलाई मारमा पार्छ ।
अबको लकडाउनः भोकभोकै मार्ने, संक्रमण बढाइरहने पनि नहोस्
अर्कोतर्फ अहिले जीवन धान्न पनि मानिसहरूलाई सहज छैन । दैनिक मजदुरी गरेर पेट पाल्ने गरिब तथा श्रमजीवी जनताहरुको लागि यथासक्य सरकारले राहतको प्याकेज ल्याएर खाद्यान्नको ब्यवस्था गर्नुपर्ने देखिन्छ नत्र हामी नेपाली जनता कोरोना भाइरससँगै भोकमरीको चपेटामा पर्ने पनि निश्चय छ । तसर्थ जतिसक्दो चाँडो ज्यालादारी गर्ने न्यून आयआर्जन भएर जीविकोपार्जन गर्नेहरुको लागि राहत प्याकेज ल्याइयोस् । यसअघिको लकडाउन हुँदा करिब चार महिनासम्म जनताले राहत पनि पाएका थिए र जसोतसो बाँचेका पनि थिए । अहिलेको अवस्था त्यस्तो छैन, हप्तादिन लकडाउन भनिन्छ तर बढ्दै थप्दै गइरहेको अवस्था छ । यसले के हुन्छ भने अब सातादिनमा लकडाउन खुलिहाल्छ अनि केही गरौंला भन्ने सोचेका श्रमजीवीको जीवन सहज बनेको छैन । यसअघि भएको करिब चार महिनाको लकडाउनमा सर्वसाधारणले राहत पाएर केही राहत पनि महसुस गरेका थिए । सरकारले यसतर्फ पनि ध्यान दिनुपर्छ । भनौं अबको लकडाउनः भोकभोकै मार्ने, संक्रमण बढाइरहने पनि नहोस् ।