विराटनगरः विराटनगरमा थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय कार्की थरका पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति ९ बजे मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले उपचारका लागि अस्पताल ल्याइपुरयाएको एक घण्टामै पुरुषको मृत्यु भएको जानकारी दिए ।
आइतबार कोरोना पुष्टि भएपछि घरमै रहेका उनको स्वास्थ्य अवस्थामा समस्या भएपछि उपचारका लागि कोभिड अस्पताल लगिएको थियो । अस्पताल ल्याएको एक घण्टामै उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका उनको अवस्था अस्पताल पुग्दा गम्भीर बनिसकेकोले बचाउन नसकेको अस्पतालले जनाएको छ ।
परिवारकै एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वाब संकलन गरिएकोमा आइतबार गरेर पोजेटिभ रिपोर्ट आएको थियो । पोजेटिभ आएपनी घरमै रहेका उनलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको थियो । मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।