धरानः अब विदेश अध्ययन गर्न चाहने विद्यार्थीले अनुमतिपत्र पाउने भएका छन् ।
सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि अध्ययन अनुमति पत्र (नोअब्जेक्सन लेटर अर्थात् एनओसी) उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्थगित एनओसी खोल्ने निर्णय गरेको हो । कोरोना जोखिम बढ्दै गएको भन्दै सरकारले एनओसी रोकेर नयाँ विद्यार्थीलाई विदेश अध्ययनको बाटो बन्द गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णय गरी एनओसी जारी गरिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि बैठकले एनओसी खोल्ने निर्णय गरेको हो ।
एनओसी रोकिँदा ३५ हजार विद्यार्थीको शैक्षिक गतिविधि नै रोकिएको गत फागुन २९ गतेको मन्त्रिपरिषद् बैठकले एनओसी रोक्ने निर्णय गरेको थियो ।
शिक्षा मन्त्रालयले पेश गरेको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरुले आफूहरुको भविष्यमाथि नै खेलबाड गरेको भन्दै चर्को दबाब दिएपछि मन्त्रालयले एनओसी वितरण पुनः खोल्ने गरी प्रस्ताव लगेको थियो ।
शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले एनओसी जारी भएसँगै विद्यार्थीले विदेशमा भर्ना गर्न पैसा पठाउन पाउने तर त्यो पैसा डुब्यो भने नेपाल सरकार जिम्मेवार नहुने बताए ।
उनले अहिले विदेश गएको विद्यार्थी तत्काल नेपाल फर्किन चाहे पनि सरकारले आफै खर्च गरेर ल्याउँदैन, विद्यार्थी आफैँ खर्च गर्नुपर्ने शर्तको विषयमा मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए । मन्त्रिपरिषदको २०७६ फागुन २९ गतेको बैठकले कोभिड १९को संक्रमण बढेको भन्दै एनओसी दिन बन्द गर्ने निर्णय गरेको थियो ।
कोभिडको अवस्था सामान्य नभए पनि विभिन्न देशले विद्यार्थी भर्ना तथा कक्षा सुचारु गरेको भन्दै वैदेशिक अध्ययनमा जाने विद्यार्थीले एनओसी जारी गर्न माग गर्दै आएका थिए । विद्यार्थीले आवश्यक सबै कागजपत्र पेश गरे एनओसी पाउँछ । फर्मको लागि विद्यार्थीले राष्ट्रिय वाणिज्य बैंकमा पैसा तिरेको फर्म समेत अपलोड गर्नुपर्छ ।
फर्म भरिसकेपछि मन्त्रालयले एसएमएसमार्फत विद्यार्थीलाई जुन दिन बोलाउँछ, त्यो दिन सक्कल कागजपत्रमा नोटरी गराएर मन्त्रालयको एनओसी शाखामा बुझाउनुपर्छ । त्यसपछि मात्रै एनओसी जारी हुन्छ ।