धरानः राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रममा भर्ना नलिने निर्णय गरेको छ । आयोगको बैठकले यस वर्षदेखि भर्ना नलिने निर्णय गरेको आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलले जानकारी दिए ।
‘आयोगले चकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ ले चिकित्सा शिक्षाअन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको छ । ऐनअनुसार आयोगले यस वर्षदेखि भर्ना नलिने निर्णय गरेको हो’, सदस्य सचिव लुइटेलले भने ।
सीटीईभीटीको प्रमाणपत्र तहमुनिका अनमी, सीएमए, ल्याब असिस्टेन्ट, आयुर्वेद, अकुपञ्जर र अकुप्रेसरका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन पाइनेछैन । आयोगले विश्वविद्यालय र प्रतिष्ठान अनि सोअन्तर्गतका शिक्षण संस्थाहरूले सञ्चालन गरेको प्रमाणपत्र तहका कार्यक्रममा पनि भर्ना लिन नपाइने निर्णय गरेको सचिव लुइटेलले जानकारी दिए ।
राष्ट्रिय चिकित्साशिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तािलम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा ऐनको दफा ४२ मा टेकेर साउन ३० मा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।
आयोगले दफा १५ (४)अनुसार परिषद्ले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम यसैशैशिक्षक सत्रबाट संचालन नगर्ने नगराउने निर्णय गरेको छ ।
योसँगै अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ । आयोगले स्तरउन्नती गर्नसक्ने अवस्थामा लचिलो बन्ने निर्णय गरेपछि धेरै कलेजहरु प्रभावित हुनेछन् ।
आयोगले विश्वविद्यालय प्रतिष्ठान र सो अन्तरगतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्ने नगराउने र संचालमा रहेका यस्ता कार्यक्रमहरुको अध्ययन अवधि पूरा भएपपछि स्वतः फेजआउट हुने निर्णय गरेको छ ।
यसअघि त्रिविले पिसिएल तह खारेज गरेपनि स्वास्थ्यका केही विषयमा यो कार्यक्रम जारी थियो । उनले त्रिभुवन विश्वविद्यालयले संचालन गर्दै आएको पिसिएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन नपाउँने निर्णय भएको जानकारी दिए ।
यसअघि चिकित्साशिक्षा ऐन आउने समयमै यो विषयमा निकै ठूलो विवाद भएको थियो । ऐनमा समेत फेजआउट गर्दै जाने शब्द उल्लेख गरेर तोकिएअनुसार स्तरउन्नतीको व्यवस्था पनि गरिएको थियो । तर, प्रस्तावित चिकित्साशिक्षा नियमावलीमा विषय मिल्ने अवस्थामा अपग्रेट वा गाम्भेगरी खारेजीको व्यवस्था राखिएपनि नियमावली आउँने समय सो पाटो नै हटेपछि अन्यो सृजना भएको थियो ।
यसअघि भर्ना भएका विद्यार्थीले कोर्स पूरा गर्न पाउनेछन् । ‘यसअघि भर्ना भएकाको कार्यक्रम रोकिँदैन । कोर्स पूरा हुन्छ । नयाँ भर्ना मात्र नहुने हो’, उनले भने, ‘अहिले पढिरहेका विद्यार्थी उनुत्तीर्ण भएमा ३ पटकसम्म मौका परीक्षा दिन पाउनेछन् ।’
भर्ना बन्द भएका सीटीइभीटीको कार्यक्रम एसएलसी सरहको हो । बजारमा जागिरका लागि समस्या, र स्वास्थ्य मन्त्रालयले अनमी, अहेब, ल्याब असिस्टेन्ट जस्ता कार्यक्रममा जागरिका लागि विज्ञापन नखुलाउने भएकाले पनि बन्द गरिएको सरकारी अधिकारी बताउँछन् ।