धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले सर्जरीमा कार्यरत ३८ वर्षीय महिला हेल्थ एड, ४७ वर्षीय पुरुष र ७७ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए ।
एकजना मोरङबाट पिसाब रोकिएर उपचार गर्न आएका बिरामी, एकजना कन्ट्याक ट्रेसिङ गरिएका वीरगञ्जका पुरुष र धरानकै हेल्थ एडमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । वीरगञ्जका ती पुरुष आफन्तकोमा बस्दै आएका र उनले प्रतिष्ठानमा स्वाब दिएका थिए । प्रवक्ता सापकोटाका अनुसार बितेको २४ घण्टामा ४१ जनाको पिसिआर पोजेटिभ रिपोट आएको बताए । तीमध्ये तीनजना मात्र प्रतिष्ठानमा स्वाब लिइएका रहेको उनले जानकारी दिए । उनीहरू प्रदेश १ र अन्य प्रदेशका रहेको उनले जानकारी दिए ।
यता धरानमा संक्रमित भेटिएका छैनन् । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले गत साउन ७ गते १०८ जनाको स्वाब परीक्षण गरिएकोमा ९७ जनाको रिपोर्ट नेगेटिभ आएको बताए । ‘अब ११ जनाको रिपोर्ट आउन बाँकी छ’, उनले भने । यस्तै हिजो बुधबार १० गते १०५ जनाको स्वाब लिइएको र रिपोर्ट आउन भने बाँकी रहेको उनले जानकारी दिए ।