धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १५ पुगेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । यसअघि धरानका तीनजनाको पनि प्रतिष्ठानमै मृत्यु भएको थियो । मृत्यु हुनेमा मोरङको बेलबारी–५ की ५६ वर्षीया महिला र दमक–३ झापाका ८३ वर्षीय वृद्ध पुरुष छन् ।
यस्तै, मृतक बेलबारीकी महिलाको बिहान ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई कोशी अञ्चल अस्पतालले रेफर गरेर बीपी पठाएको थियो । उनी बीपीमा भदौ ९ गते भर्ना भएकी थिइन् । उनको सोही दिन पिसिआर पोजेटिभ आएको थियो । कोशीबाट रेफर गर्ने क्रममा बिरामीमा अत्यधिक खोकी, स्वासप्रस्वासमा समस्या, ज्वरो देखिएको थियो।
दमक-३ झापाका ८३ वर्षीय वृद्धलाई बिएण्डसी अस्पताल बिर्तामोडबाट रेफर गरिएको थियो भने भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएको उनले जानकारी दिए । उनी ३ गते नै बीपीमा भर्ना भएका थिए । उनको बिहान ३ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकको मृगौलाको दीर्घकालिन समस्या भएर डायलाइसिस पनि गर्नुपरेको थियो भने उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको पनि समस्या भएको थियो । दुवैको शव व्यवस्थापनको कार्य भइरहेको उनले जानकारी दिए ।