धरानः अहिले बालबालिका पढ्नबाट समेत टाढिँदै जान थालेका छन् । घरमा मोबाइल चलायो बस्यो, टिभी हेरयो बस्यो भन्दा अन्य केही काम हुन सकेको छैन । अनलाइन कक्षा लिएका बालबालिका पनि अहिले झन्झट लिन थालेका छन् । रेडियो र अनलाइनको माध्यमबाट हुने कक्षा पनि खासै प्रभावकारी र पहुँचमा पुग्न सकेको छैन ।
बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले कोभिड–१९ का कारणले विद्यालयहरू बन्द हुँदा नेपालमा विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित भएको जनाएको छ ।
बालबालिका तथा परिवारमाथिको कोरोनाको प्रभावसम्बन्धी युनिसेफले हालै सम्पन्न गरेको अध्ययनमा सो अवस्था देखिएको हो । ‘१० मध्ये ३ बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाईका माध्यमहरूमा पहुँच रहेको छ र तीमध्ये पनि ८० प्रतिशतले मात्रै दूर शिक्षाका माध्यमहरूलाई आफ्नो सिकाई कार्यहरूका लागि उपयोग गरिरहेका छन्,’ शुक्रबार प्रकाशित युनिसेफको सो प्रतिवेदनले भनेको छ ।
युनिसेफका अनुसार कोरोना संकटका कारण विश्वव्यापीरुपमा एक तिहाइ विद्यार्थी शिक्षाबाट वञ्चित हुँदा नेपालमा भने दुई–तिहाइ विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित हुन पुगेको औँल्याएको हो । कोरोनाका कारण विश्वमा एक तिहाइ अर्थात् ४६ करोड ३० लाख बालबालिका दूर शिक्षाको पहुँचबाट वञ्चित भएको युनिसेफद्वारा आज सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘कोभिड–१९ को कारणले विद्यालय जानबाट वञ्चित भएका कम्तीमा पनि ४६ करोड ३० लाख बालबालिकाका लागि दूर शिक्षामा पनि पहुँच थिएन,’ युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले बताएकी छन्, ‘महिनौसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाईमा पूर्ण अवरोध हुनु विश्वव्यापी शैक्षिक आपतकाल हो । यसको असर आगामी केहि दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ ।’
यस प्रतिवेदनले उजागर गरेका तथ्यांकले विद्यालय बन्द रहेको समयमा दूरशिक्षाको अभाव सम्बन्धमा चासोमूलक अवस्थाको चित्रण गरेको भएता पनि अवस्था अझै चिन्ताजनक रहेको कुरामा युनिसेफले जोड दिएको छ ।
घरमा प्रविधि र साधनहरू उपलब्ध भएपनि घरको काम गर्नुपर्ने दबाब, जबर्जस्ती काममा लगाइनु, सिक्नको लागि उपयुक्त वातावरणको अभाव र अनलाइनमा रहेको वा टेलिभिजन र रेडियोमा प्रशारित पाठ्यक्रमको प्रयोग गर्न मद्दत गर्ने व्यक्तिको अभाव आदि कारणले गर्दा बालबालिकाले दूरशिक्षाका यी माध्यमबाट प्रभावकारी रूपमा सिकाई हासिल गर्न असमर्थ हुनसक्ने सो प्रतिवेदनमा उल्लेख छ ।