धरान (रासस): कोभिड–१९ को जोखिम बढ्दै गएकाले सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई नै मूलधार मान्ने गरी शैक्षिक सत्रको उपयोग गर्ने भएको छ ।
शिक्षा पत्रकार समाज (सेज) ले भर्चुअलरुपमा आयोजना गरेको बहसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सङ्कटको स्थितिमा बालबालिकाले पढ्न पाउनुपर्छ तर बालबालिकाको स्वास्थ्य सुरक्षा पनि संवेदनशील विषय भएकाले सरकारले यी दुवै पक्षको विश्लेषण गरेर शैक्षिक सत्रलाई खेर जान नदिने गरी निर्णय गर्न लागेको जानकारी दिए ।
सहसचिव शर्माले शिक्षामन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्को बैठकले वैकल्पिक सिकाइलाई मूलधारको मान्यता दिने सैद्धान्तिक निर्णय गरिसकेको र पाठ्यघन्टा गणना र अन्य प्राविधिक पक्षको मिलानका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको बताए। गत चैत ६ गतेदेखि शिक्षालय बन्द रहेकाले सरकारले गत असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन र अफलाइनबाट सिकाइको थालनी गरेको थियो तर हालसम्म उक्त सिकाइलाई शैक्षिक सत्रमा गणना गरिएको छैन ।
मन्त्रालयका शैक्षिक सत्र व्यवस्थापन सुझाव कार्यदलका संयोजकसमेत रहनुभएका सहसचिव शर्माले हालसम्मको सिकाइबारे विद्यार्थीगत व्यक्तिगत मूल्याङ्कन गरेर कोर्स अगाडि बढाइने र अब हरेक विद्यालयले विद्यार्थी यकिन गर्न अनलाइनबाटै भर्ना (अभिलेखीकरण) गराई शैक्षिक तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरिने बताए । सोका लागि वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई एक साताभित्र संशोधन गरिने भएको छ । गत जेठ १८ गते उक्त निर्देशिका जारी भएको थियो ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले कोरोना सङ्कट उत्पन्न भएको पाँच महिना व्यतित भइसकेको स्थितिमा शैक्षिकसत्रको बहश हुनु सकारात्मक भए पनि शिक्षकहरुले काम गर्न सकेनन् भनेर दोषारोपण गर्ने कुरा स्वीकार्य नहुने जिकिर गरे । विषम स्थितिमा नियमित सरहको शैक्षिक परिणाम र सञ्चालनको अपेक्षा गर्नु उपयुक्त नहुने जनाउँदै उहाँले अहिले स्वाध्ययनलाई प्राथमिकता दिन आग्रह गरे ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले नयाँ शैक्षिक सत्रमा औपचारिक थालनी गर्ने हो भने विद्यार्थी भर्नालाई आरम्भ गर्नुपर्ने आग्रह गर्दै गत असार १ गतेदेखिलाई शैक्षिक सत्र गणना गर्न माग गरे ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीलाई अभिलेखीकरण नगराएसम्म वैकल्पिक प्रणालीलाई औपचारिक मान्यता दिँदैमा सबै विद्यार्थीको सिकाइ सुनिश्चितता र प्रभावकारी व्यवस्थापन नहुने जनाए ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष कृष्ण थापाले वैकल्पिक सिकाइलाई शैक्षिकसत्रमा गणना गरिनुको विकल्प नभएको र यसमा शिक्षकलाई विद्यार्थीसँग कसरी जोड्ने तथा अभिभावकको सन्त्रास हटाउन सकिएमा सामाजिक दूरी कायम गरी कतिपय स्थानमा विद्यालय खोलाउन सकिने उपाय सुझाए ।
अभिभावक महासङ्घका अध्यक्ष एवं शैक्षिकसत्र व्यवस्थापन सुझाव कार्यदलका सदस्य सुप्रभात भण्डारीले कोरोना जोखिम तत्काल हट्न नसक्ने भएकाले शैक्षिकसत्रलाई नियमितताका लागि राष्ट्रिय स्वयंसेवक परिचालनसहितको योजना बनाउनुपर्ने बताए ।
शिक्षा मन्त्रालयका पूर्वसहसचिव भीमलाल गुरुङले सङ्कटका समयमा वैकल्पिक प्रणाली उपयुक्त भएपनि यसको व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले यसलाई कार्यमुखी बनाउन पूर्वाधार विकास र सहयोगमा जोड दिन आग्रह गरे । काठमाडौँको निलबाराही विद्यालयका प्रधानाध्यापक डा जानुका पौडेलले अनलाइनमा आफ्ना कति विद्यार्थीको पहुँच छ भन्ने सर्वे गर्दा अधिकांशसँग प्रविधिको सुविधा नभएको पाइएकाले वैकल्पिक सिकाइमा चुनौती थपिएको बताए ।