धरानः धरान उपमहानगरपालिका मेयर तिलक राईले आफूले रुख नकाटेको बताएका छन् ।
धरान–२० भालुढुङ्गा सामुदायिक वनमा रहेको सालको रुख काटिएको घटनामा आफूलाई जोडेर चरित्रहत्या गर्न खोजिएको प्रष्टयाएका छन् । व्यक्ति विशेषले प्रतिशोध साँध्ने हेतुले वन समूहका कोषाध्यक्षको समेत नाम जोडेर चरित्रहत्या गर्ने मनसाय रहेको उनले प्रष्टयाएका छन् ।
मेयर राईद्वारा मङ्गलबार जारी विज्ञप्ती विज्ञप्तिमा भनिएको छ, ‘मलाई जानकारी भएसम्म वन समितिको आन्तरिक अधिवेशन केही वर्षदेखि विविध कारणबाट नियमित हुन नसकेको अवस्था रहेछ, आन्तरिक समस्या र कोषाध्यक्षसँगको पारिवारिक र व्यक्तिगत आग्रह, पूर्वाग्रह, रिसइवी साँध्ने काम भएको प्रष्ट पार्न चाहन्छु ।’
मेयर राईले आफ्नो र वन समूहका कोषाध्यक्ष भीम बस्नेतबीचको सम्बन्ध छिमेकीको भएको बताउँदै भने, ‘हामी वन क्षेत्रमा गएनौं र रुख काट्ने कुरै भएको छैन ।’ मेयर राईले यसअघि पनि प्रतिक्रिया दिँदै पटक पटक भनेका थिए–धरानमा तिलकले चुनाव जितेको छ, अब के के भन्छन् भन्छन् नि, जसले जे भन्यो, उहाँहरूले नै प्रमाणित गर्नुहुन्छ होला नि ।
यसअघि वनका अध्यक्ष बुद्धिमान तामाङले मेयरकै निर्देशनमा रुख काटिएको भन्दै उजुरी समेत दिएका थिए । शनिबार दिउँसो मेयर राईकै निर्देशनमा करिब २ सय क्युफिटभन्दा बढी सखुवाको रुख काटेको उनले आरोप लगाएका हुन् ।
