चैत ११ देखि जारी लकडाउनले हामी धरानेलाई छोडेको छैन । झन्डै चार महिनापछि सरकारले लकडाउन हटाएपछि पनि अहिले धरानमा भने लकडाउन जारी नै छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको निषेधाज्ञा मात्रै ‘केही खुकुलो’ बनेको हो । यसअघि धरानमा लकडाउन हुँदा दूध, फलफूल, तरकारी, खाद्यान्न केही खुल्ला थिएन । तरकारी बिहान खुलाएको प्रशासनले अहिले १० बजेसम्म पसल खोल्न अनुमति दिएको छ ।
हुन त धरानमा यसअघि लकडाउन थिएन । सरकारले लकडाउन सकिएको घोषणा गरेपछि बजार खुलिसकेको थियो, बजार केही गुल्जार बनिसकेका थियो । भनौं धरान लयमा फर्किसकेको थियो । व्यापार–व्यवसाय गर्नेले गरिसकेका थिए अनि गरिखानेले गरिखानसमेत थालिसकेका थिए, सार्वजनिक यातायात पनि चल्न थालिसकेको थियो । भनौं त्यतिबेला शैक्षिक संस्था, सिनेमाघर र धार्मिकस्थलका गतिविधि बाहेक अन्य सञ्चालनमा आइसकेको थियो । तर हाम्रै बेवास्ता अनि लापवाहीले फेरि लकडाउन भयो । झन्डै चार हप्ता बढी लकडाउन भएपछि बिहीबारदेखि केही सहज भने भएको छ । कतिपयलाई लकडाउन मजाकको विषय बन्यो भने कतिपयलाई गहन बनायो । किनभने दिनहुँ गरिखाने वर्ग यसको चपेटामा परे । आज के खाऔं भन्नेहरू अझै मारमा परे । त्यतिबेला कोरोना संक्रमणको अवस्था नियन्त्रणमा नआउँदै हतारमा लकडाउन अन्त्य भएको घोषणालाई कतिपयले कर असुल्ने कुरासँग जोडेरे पनि हेरे । तर त्यो होइन कोरोना संक्रमित बढ्दै गएपछि स्थिति भयावह हुने देखिएर नै धरानमा लकडाउन भएको हो भन्ने हामीले भुल्नुहुन्नँ ।
अहिले पनि बजारमा भौतिक दुरी कायम राखेर खोल्ने भनिएको छ । बजार खुला हुन थालेको छ तर भौतिक दुरी कायम राखेर बजार सञ्चालनमा छन् कि छैनन् त्यसको अनुगमन कसले गर्ने ? यो प्रश्न अहिले खडा भएको छ । यसका लागि सबैको हातेमालो आजको आवश्यकता हो । धरानमा कोरोना संक्रमित बढ्दै गएपछि धरानेको जीवनशैलीमा केही परिवर्तन देखिएको छ । सरकारले मास्क अनिवार्य लगाउन भनिसकेको छ । बजारतिर ध्यान दिने हो भने अहिले अधिकांशले माक्स प्रयोग गरेको देखिन्छ । भौतिक दुरीमा पनि ध्यान दिन थालिएको छ । अधिकांश मानिस एकअर्काको नजिक जान पनि तर्किन थालेको अवस्था छ । यो राम्रो सङ्केत हो । तर कतिपयले माक्सी चिउँडोमा समेत लगाएको देखिन्छ । जसले माक्स लगाउँदैन, चिउँडोमा लगाउँछ उसलाई सम्झाउनु अब तपाई हाम्रो दायित्व हो भनेर सबै सचेत बन्दै मास्क लगाउन प्रोेत्साहन गर्ने हो भने पनि अब धरानमा लकडाउन गरिरहनु पर्दैन ।
अर्थतन्त्रमा लकडाउनको चरम असर परिसकेको छ । अहिले बजार खुकुलो हुँदै जाँदा जनजीवन सहज बन्दै जाला तर हेलचेक्र्याइँ र लापरवाही गर्ने हो भने धरानमा पटक–पटक लकडाउन गरिरहनुपर्ने अवस्था आउँछ । हामीले यति मात्रै बुझे पुग्छ–सरकारले लकडाउन खुला गरेपनि कोरोनाको जोखिम भने टरेको छैन । त्यसकारण हामीले अब परिपक्वता देखाउनु आवश्यक भइसकेको छ । बजारमा भीडभाड हुँदा साथै सामाजिक दुरी कायम नगर्दा रोग सर्ने सम्भावना रहन्छ भनेर बुझौं, लापरवाही र हेलचेक्रयाइँ नगरौं, धरानमा पटक–पटक लकडाउन नबढाऔं । कोरोना हाम्रो नियन्त्रणमा छैन, त्यसैले पनि सचेत बनौं । अनिवार्य मास्क लगाऔं, सेनिटाइजर प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं, महामारीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।