धरानः धरानमा आज ६ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार बिहान थप तीनजनामा कोरोना पुष्टि भएको थियो । बिहान चार महिने शिशु (छोरी) सहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको गाइनो वार्डमा कार्यरत नर्सको चार महिने छोरीमा कोरोना पुष्टि भएको थियो ।
यस्तै, बीपी प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिइएका धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिलेसम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
नर्समा चाहिँ कोरोना पुष्टि नभएको तर चार महिने शिशुमा कसरी देखियो कोरोना ? धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ठेगाना उल्टोसुल्टो लेखाइदिँदा समस्या भएको खुलाए । उनले धरानमा आजै ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । शुक्रबार बिहान तीन जना र अहिले थप तीनजनामा गरेर ६ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । ‘खासमा यसरी ठेगाना गलत लेखाइदिँदा समस्या भएको हो’, उनले भने, ‘बीपीमा काम गर्ने २४ वर्षीया नर्स, ६० वर्षीया उनकी सासु, २८ वर्षको श्रीमानमा पनि कोरोना देखिएको छ ।’ ती नर्सले छोरीको ठेगाना धरान, श्रीमानको ठेगाना, दुहवी, आफ्नो ठेगाना विराटनगर लेखाइएको पाइएको उनले जानकारी दिए । ‘यसअघि हामीले ठेगाना पत्ता लगाउन सकेका थिएनौं, अहिले सबै पत्ता लगाइसकेका छौं, अहिले कोरोना पनि पुष्टि भइसकेको छ र उनीहरू धरानको बीपीको क्वाटरमै बस्दै आएको खुल्यो ।’
उनका अनुसार खासमा नर्सको माइती घर विराटनगर हो भने श्रीमानको दुहवी । उनीहरू धरानको बीपीमै बस्दै आएका थिए । योसँगै धरानमा संक्रमितको संख्या २०३ पुगेको छ ।