धरानः बितेको २४ घण्टामा प्रदेश १ मा १४३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।
धरानका ७१ जनासहित यतिका संख्यामा कोरोना संक्रमित थपिएका हुन् । धरानमा ७० पुरुष र एक महिला गरेर ७१ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये सुनसरीबाट ७८ जना छन् । इटहरीबाट ५ महिला र २ पुरुष थपिएका छन् ।
मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका समान १ जना रहेको प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनवर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा समान १ महिला, झापाको बिर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका समान १ महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, संखुवासभाको खाँदबारीमा ३, चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आइतबार ७ जना डिस्चार्ज भएका छन् । उनीहरू सबै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ४३ पुगेको छ ।