ताप्लेजुङः ताप्लेजुङमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र प्रचार तथा प्रकाशन विभागले पूर्णता पाएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङलीङमा शुक्रबार र शनिवार सपथग्रहण तथा प्रथम पूर्ण बैठक सम्पन्न भएसँगै जिल्लामा राष्ट्रिय युवा संघ र प्रचार तथा प्रकाशन विभागको एकताको प्रक्रिया टुङ्गिएको हो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दीपेन पोमुले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराए । प्रचार तथा प्रकाशन विभाग पदाधिकारीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष विजय प्रकाश वनेमले सपथ ग्रहण गराएका थिए । तत्कालीन नेकपा एमाले सम्वद्ध युवा संघ नेपालबाट ३४ र माओवादी केन्द्रसम्बद्ध वाइसीएल नेपालबाट २७ जना गरी ६१ सदस्यीय राष्ट्रिय युवा संघको जिल्ला कमिटी चयन भएको छ ।
प्रचार तथा प्रकाशन विभागमा तत्कालीन नेकपा एमालेबाट ९ सदस्य र माओवादी केन्द्र ६ सदस्य रहने गरी १५ सदस्य रहने गरी प्रचार तथा प्रकाशन विभाग गठन भएको प्रचार विभाग प्रमुख सुरोज ओझाले जानकारी दिए । संघको जिल्ला कमिटी संयोजकत्वमा तत्कालीन वाइसीएलका जिल्ला अध्यक्ष सुजन सामेखाम संयोजक र युवा संघका जिल्ला अध्यक्ष आसलाल केदेम ‘आशिष’ सहसंयोजकमा चयन भए ।
सपथ ग्रहणसँगै पूर्णता पाएको राष्ट्रिय युवा संघको जिल्ला कमिटीलाई नेकपाका प्रदेश कमिटी सदस्य एवं जिल्ला अध्यक्ष विजयप्रकाश वनेम, प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, प्रदेश कमिटी सदस्यद्वय खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य क्षितिज लिम्बू लगायतले कार्यकाल सफलताको शुभकामना दिए । त्यस्तै, नेकपाका जिल्ला कार्यालय सदस्यहरु मातृकाप्रसाद भट्टराई, सन्तोष खतिवडा, विष्णुकुमार हाङ्बाङ, सुरज ओझा, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रजिन हाङ्बाङ लगायतले पनि कार्य सफलताको शुभकामना दिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको लामो समय बितेपनि नेकपा सम्बद्ध भातृसंस्थाहरुको एकता प्रक्रिया चलिरहेको छ । अझै पार्टी निकट केही संस्थाहरुको जिल्लामा एकता प्रक्रिया टुङ्गिन बाँकी नै रहेको बताइएको छ । भातृ संस्थाहरुको समयमै एकता नटुङ्गिदा अर्थात् जिल्ला कमिटीले पूर्णता नपाउँदा ती संस्थाहरुमा आवद्ध कतिपय नेता तथा कार्यकर्तामा नैराश्यता छाउनुका साथै विचलित समेत भएका पाइएको छ । यता ढिलै भए पनि नेकपाको बलियो आधारको रुपमा रहेको संघको सपथग्रहणसँगै जिल्ला कमिटीले पूर्णता पाएपछि पार्टीलाई बजबुत बनाउनमा पूर्ण सहयोग पुग्ने पार्टी नेतृत्वहरुले अपेक्षा राखेका छन् ।