विराटनगरः मोरङमा माछालाई चारो दिने क्रममा डुबेर एकैपरिवारका तीनजनाको मृत्यु भएको छ ।
ग्रामथान–४ मोतिपुरमा पोखरीमा डुबेर एकैपरिवारका तीनजनाको मृत्यु भएको हो । आइतबार पोखरीको माछा रुग्न बसेका २ छोरी र आमाको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।
घटनामा करिब ३५ वर्षीया सीता अधिकारी, छोरीहरु १३ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको हो । बेलुका माछालाई चारो दिएर छोरीहरु नुहाउने क्रममा घटना भएको बताइएको छ ।
यता सुनसरीको हरिनगरा–४ मा पौडी खेल्ने क्रममा डुबेर १ को मृत्यु भएको छ । २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ । आइतबार सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनी आफन्तले इलाका प्रहरी कार्यालय हरिनगरामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।
यस्तै, मोरङ कटहरी–७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार ३ बजे आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट विद्युत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको भनी आफन्तले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटी गई कानुनी कारबाही भइरहेको सो कार्यालयले जनाएको छ ।