बातचित गर्ने कला आफैंमा महत्वपूर्ण एवम् उत्कृष्ट मानवीय जीवनपयोगी कला हो अर्थात् यो यस्तो प्रकारको कलारूपी हतियार हो । जसले कुनैपनि प्रकारको अन्तरमनको लक्षित सपना आर्जनलाई असीमित बनाउन मद्दत गर्दछ । यसले अर्थहीन तर्क–वितर्क गर्ने प्रवृत्ति अन्त्य गर्दै र समझदारी बढाउँदै शुन्यदेखि शिखरसम्म पुरयाउने भरयाङको रूपमा काम गर्दछ । बातचित गर्ने कलालाई व्यक्तिको बोल्ने–सुन्ने कला पनि भनिन्छ ।
सामान्यतः हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा १६ देखि १८ घण्टासम्म बातचित गर्ने गर्दछ । उसको बातचित गर्ने शैली वा तरिका कस्तो छ ? जसमा उसको लक्षित उद्देश्यको उपलब्धि तह निर्भर गर्दछ । यो कलाले शब्दलाई जादुमय तरिकाबाट प्रस्तुत गर्न र अरूलाई आकर्षित गर्न मद्दत गर्दछ । त्यसैले बातचित गर्ने सर्वव्यापी स्वीकार्य कलाको महत्वलाई हरेक व्यक्तिले हृदयबाटै महसुस र बोध अनिवार्य गर्नुपर्छ ।
आफ्नो विचार वा वस्तुप्रति अरू व्यक्तिलाई विश्वास दिलाउनु वा जगाउनु आफैमा कठिन तर सम्भवयोग्य सजिलो कार्य पनि हो । यसको लागि जुक्तिसहितको बुद्धिको आवश्यकता पर्दछ । जुन बातचित गर्ने कलाबाट मात्र सम्भव हुन्छ । यो कलाले नैतिकता कायम राख्दै अरू व्यक्तिसँग कसरी दीर्धकालीनरूपमा जोडिने र व्यवहार गर्ने भन्ने सम्बन्धमा गतिलो उपायहरू पनि सिकाउँछ ।
हरेक क्षेत्रमा उपयोगी हुने बातचित कलाले व्यक्तिको मनमा रहने मनोवैज्ञानिक डर भगाउन र आत्मविश्वास बढाउन मद्दत गर्दछ । आज संसारमा जे–जति व्यक्ति सफल भएका छन्, त्यसको मुख्य श्रेय उनीहरूमा रहने बातचित कला नै हो । त्यसैले यो कला बुझ्न वा विकास गर्न गराउन हरेक अविभावकले आफू लगायत आफ्ना बालबालिकाहरूलाई निरन्तर उत्प्रेरित गर्नुपर्छ ।
बातचित कलाबाट हुने फाइदाहरूः
क) बोल्ने क्षमता अभिवृद्धि ।
ख) कार्यक्रम सञ्चालन वा उद्घोषण क्षमता अभिवृद्धि ।
ग) प्रभावकारी वार्तालाप ।
घ) सुन्ने क्षमता अभिवृद्धि ।
ङ) व्यक्ति अन्तरभावना सम्बोधन ।
च) द्वन्द्व अध्ययन तथा व्यवस्थापन ।
छ) मानवीय सम्बन्ध, बानी र संस्कार विकास ।
ज) डर व्यवस्थापन तथा आत्म ज्ञान विकास ।
झ) शब्द छनौट तथा शारीरिक हाउभाउमा सजगता ।
ञ) नैतिकता तथा प्रशन्नता ।
ट) आवश्यकताको सिद्धान्तअनुसार भूमिका निर्वाह ।
ठ) सोच्ने शैलीमा सुधार ।
ड) सिक्नुपर्छ भन्ने बानीको विकास ।

बातचित कला प्रभावकारिता अभिवृद्धि गर्ने उपायहरूः
क) अरूको आलोचना वा निन्दा यदि आवश्यक परे एक्लै गर्ने तर प्रशंसा भने खुलेरै समूहमा गर्ने ।
ख) कसले के भन्छ वा के सोच्छ वा कतै अरू हाँस्ने पो हो कि भन्ने मनगढन्ते वा निरुत्साहित गर्ने विचार अनिवार्य त्याग्ने । बरु हितकर हुने र नयाँपन के दिन सकिन्छ भन्ने सम्बन्धमा जहिल्यै सकारात्मक सोंच वा दृष्टिकोण बनाउने ।
ग) व्यक्तिको क्षमता र आवश्यकतासँग मेल खाने गरी सम्मान गर्दै हँसिलो र सजिलो मुद्रामा प्रस्तुत हुँदै हतौडा नबनी मनोभावनालाई सही ढङ्गले बुझ्दै सम्बोधन गर्ने ।
घ) धेरै बोल्नुभन्दा थोरै बोल्नु तर मिठो बोल्नु नै उपयुक्त हुन्छ । कसरी र कति बोल्ने भन्ने कुरामा चाँसो राख्दै शरीर सुहाउँदो पहिरन, हेराइ र शारीरिक हाउभाउ मिलानमा भने निरन्तर जोड दिने ।
ङ) अरूले भनेको बेला हल्ला नगरी शारीरिक तथा मानसिक ध्यानाकर्षण दिँदै सुन्ने साथै दिइएको सल्लाह मनन् गर्ने भन्दै विश्वसनीय व्यवहार प्रदर्शन गर्ने ।
च) प्राप्त उपलब्धिको जस वा श्रय अरूलाई दिने तर गल्तीको जिम्मेवारी भने आफूले लिन अग्रसर हुने ।
छ) असल बातचित गर्ने बानीको विकासको लागि कुनैपनि क्षेत्रको व्यक्तिसँग कुनै पनि विषयमा केही क्षण भएपनि कला अभ्यासको लागि नियमित कुराकानी गर्ने ।
ज) सकारात्मक विचारबाट बातचित कार्यलाई अगाडि बढाउने, विषय वस्तुलाई सान्दर्भिक र अति उपयोगी बनाउन आवश्यकताअनुसार उत्प्रेरणामूलक कथा भन्ने र बातचितलाई सकारात्मक विचारबाट नै अन्त्य गर्ने ।
झ) आफ्नोभन्दा पनि अरूको नै बढी हित हुने कुरामा विशेष ध्यान दिने र महसुस गराउने । यदि महसुस गरे नगरे पनि वहाँको कुरा धैर्यताको साथ सुन्ने र विनम्रतापूर्वक धन्यवाद भन्दै आदर गर्ने ।
लेखकः धरानका निजी शिक्षालयका अध्यापक हुन् ।
