Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केराबारीमा यो पारामा खुल्यो विद्यालय !

हाम्रो कोशी आवाज
असोज १३ २०७७, मंगलबार
केराबारीमा यो पारामा खुल्यो विद्यालय !

केराबारीः मोरङको केराबारी १ को बुद्ध माध्यमिक विद्यालयमा पठनपाठन शुरू भएको छ ।
५०० विद्यार्थी अध्ययनरत् सो विद्यालयमा दैनिक १२५ जना विद्यार्थी विद्यालयमा उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक छवि धमलाले जानकारी दिए । गत चैत्रको पहिलो हप्तादेखि कोरोनाको कारण स्थगित गरेका विद्यालयका शैक्षिक कार्यक्रम पुनः सञ्चालन भई विद्यार्थी कक्षाकोठामा नै भौतिक दुरी कायम गरी अध्ययन गर्न पाउँदा अहिले खुशी छन् ।
यसरी सञ्चालन भएको नेपालकै पहिलो विद्यालय भएको उनले दावी गरे । ‘यसरी सञ्चालन भएको यो पहिलो विद्यालय हो भन्ने हामीले ठानेका छौं, यसअघि लकडाउन केही खुकुलो हुँदा पनि १५ दिनसम्म पठनपाठन भएको थियो, अहिले नियमित कक्षा सञ्चालन भइरहेको छ,’ उनले फोन सम्पर्कमा भने, ‘अहिले अन्य ठाउँबाट पनि विद्यालय कसरी सञ्चालन भएको रहेछ भनेर अवलोकन भ्रमणका लागि आइरहनुभएको छ ।’
सो विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा नै एक हप्ताअघिदेखि पठनपाठन शुरु गरिएको छ । कक्षा–१० सम्म पठनपाठन गराउँदै आएको विद्यालयमा दैनिक ३ वटा कक्षाका ७ वटै घण्टी पढाइ हुने गरेका छन् । सानो र ठूलो कक्षा मिलाएर मल्टिमिडियाको प्रयोग गरी विद्यार्थीलाई नागवेली आकारमा आइसोलेटेड स्टाइलको बसाइ व्यवस्थापन गरी विद्यालयले पठनपाठन गराउन थालिएको छ । ‘हामीले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर पठानपाठन शुरु गरेका हौं ।’ उनले भने, ‘हामीले सबै विद्यार्थीलाई मास्क, फेससिल्ड, साबुन पानी र सेनिटाइजरको व्यवस्थापन गरेर विद्यालयमा बोलाएका हौं ।’

छोराछोरी घरमा भन्दा विद्यालयमा सुरक्षित हुने अभिभावक बताउँछन् । सुरक्षा सावधानी अपनाएर बिद्यालय सञ्चालन हुँदा विद्यार्थीमा संक्रमणको डर नहुने अभिभावकको भनाइ छ । विद्यालयले दैनिक सञ्चालन हुने कक्षा सूची तयार गरेको छ ।
विद्यालयले लकडाउनलगत्तै अनलाइन कक्षा शुरु गरेपनि सबै विद्यार्थीको पहुँच नपुगेपछि टोल–टोलमा विद्यार्थी भेला गराएर समेत पढाउँदै आएको थियो । अनलाइन र टोल–टोलमा गरिएको कक्षापनि प्रभावकारी नभएपछि विद्यार्थीको उपस्थितिमा विद्यालयबाटै कक्षा शुरु गरिएको उनको भनाइ छ ।
भौगोलिक रुपमा विषम भएका कारण गाउँपालिकाले १२ वटा सिकाइ केन्द्र स्थापना गरेर समूहमा सहजीकरण गर्ने तयारी गरिरहेको शिक्षा शाखा प्रमुख अजुर्न घिमिरेले बताए ।
स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नका लागि गाउँपालिकासँग छलफल गरेर कक्षा शुरु गरिएको माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भूपालमानसिंह कार्कीले बताए । केराबारी कोरोनामुक्त स्थानीय तह भएको र हाल सङ्क्रमण नदेखिएकाले पठनपाठन सञ्चालन गर्नुपर्नेमा जोड दिएको उनले जानकारी दिए । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी सामाजिक सञ्जालमा बढी झुम्मिन थालेको हुनाले अभिभावकहरूसँग सल्लाह गरेर विद्यालय सञ्चालनको निर्णयमा पुगिएको उनले बताए ।

प्रकाशित मिति: असोज १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend