धरानः धरान–१६ का युवा लिम्बुवानमा प्रवेश गरेका छन् । करिब तीन दर्जन बढी युवा संघीय लिम्बुवान युवा मञ्चमा प्रवेश गरेका हुन् । युवा मञ्चका धरान नगर अध्यक्ष रमेश राईका अनुसार ४४ जना युवा मञ्चमा प्रवेश गरेको जानकारी दिए ।
प्रवेश हुने युवामा सेरिङ लिम्बू, सुशान्त लिम्बू, सन्देश राई, आर्यन केसी, जीवन राई, आशिष शाह, रहिद जवेद, डेनी मगर, साहिडान्ड कटुवाल, अस्मिन भट्टराई, अभिशेक मगर, किरण गुरुङ, समित क्षत्री, सागर राईलगायत ४४ जना रहेका छन् ।
कार्यक्रममा जिल्ला अध्यक्ष अमर इजमले लिम्बुवान भन्नेवित्तिकै लिम्बू पार्टी हो भन्ने आम बुझाइ रहेको बताउँदै यो लिम्बूको पार्टी नभएको बताए । ‘यो पार्टी लिम्बूको मात्रै होइन, ९ जिल्लामा बसोबास गर्ने सबैको हो’, उनले भने, ‘त्यही भएर आज आउने युवाहरू पनि सबै जाति, सबै वर्गका हुनुहुन्छ ।’
धरानका इन्चार्ज रमेश राईले अहिले पार्टीले वडा वडामा संगठन विस्तार भइरहेको बताए । उनीहरू कांग्रेस र नेकपा छाडेर लिम्बुवानमा आएको इन्चार्ज राईले जानकारी दिए । नव प्रवेशी युवाहरुलाई खादा ओढाएर पार्टीमा स्वागत गरिएको थियो । वीरेन्द्र इङनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बिबि लिङ्देन, प्रान्तीय सचिव पूर्ण मादेन, सन्जुहाङ साँवालगायतको उपस्थिति थियो ।


