दमकः श्रीमतीको हत्याको आरोपमा मृतकका श्रीमान पक्राउ परेका छन् ।
झापाको गौरादह नगरपालिका–१ मा केही दिनअघि भएको घटनामा ६५ वर्षीया मनमाया भण्डारीको हत्या गरेको अभियोगमा उनका पति भीमबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।
गत असोज १२ गते करिब साढे ४ बजेको समयमा मनमायाको शव हात बाँधेको अवस्थामा उनी सुत्ने गरेको खाटमुनी फेला परेको थियो । मृतकको पोस्टमार्टमको रिपोर्ट तथा घटनाको प्रारम्भिक अनुसन्धान, घरपरिवार तथा स्थानीयबासीबाट बुझ्दा हत्या भएको बेला भण्डारी पत्नीसँगै रहेकाले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
