विराटनगरः कोभिड आइसोलेसनमा भर्ना हुन आएका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै ज्यान गएको छ ।
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना हुन आएका दुई संक्रमितको एम्बुलेन्समै मृत्यु भएको कोभिड आइसोलेसन इन्चार्ज सुनिल देवले बताए ।
इन्चार्ज देवका अनुसार सिरहा र सुनसरीका संक्रमित पुरुषहरुको एम्बुलेन्समै मृत्यु भएको हो । सिरहाका ५४ वर्षीय पुरुषमा बिहिवार संक्रमण देखिएको थियो । ती पुरुषमा स्थानीय गाउँपालिकाले गरेको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो । त्यसैले गाउँपालिकाकै समन्वयमा थप उपचारका लागि विराट मेडिकल तथा शिक्षण अस्पतलाको कोभिड आइसोलेसनमा आएका थिए । तर एम्बुलेन्समै मृत्यु भएको देवले बताए ।
सुनसरी खनारका वृद्ध र सिरहा सुकीपुरका पुरुषलाई थप उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा लगिएको थियो । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध पुरुषको पीसीआर परीक्षण रिपोर्ट तीन दिनअघि पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि ‘होम आइसोलेसन’मै राख्दै आएका परिवारका सदस्यले श्वासप्रश्वासको समस्या बढ्दै गएपछि आइसोलेसनमा राखेर उपचार गराउन एम्बुलेन्समा राखेर विराट शिक्षण अस्पताल लगिएको थियो ।
त्यस्तै थप उपचारका लागि विराटतर्फ लगिँदै गरेका सिरहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको छ । उनको गत सोमबारदेखि विराटनगरको नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा बिहीबारसाँझ रिपोर्ट पोजेटिभ आएपछि नोबेलले थप उपचारका लागि विराटको आइसोलेसनमा रेफर गरेको जानकारी देवले दिए ।
