धरानः उदयपुरमा भ्यान दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।
भैरहवाबाट ओखलढुंगा जाँदै गरेको भ्यान दुर्घटनामा परेको हो । बा२०च ७१७१ नम्बरको भ्यान उदयपुरको कटारी नगरपालिकाको भदौरेमा दुर्घटनाग्रस्त भएको हो ।
प्रदेश ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सञ्जीवकुमार शर्मा दासले सिद्धिचरण लोकमार्गमा शनिबार स्कारपियो दुर्घटना भएको बताए । उनले घटनास्थलमै पाँच जनाको मृत्यु भएको जानकारी दिए ।
ओखलढुंगा मानेभञ्ज्याङ–९ का २६ वर्षीय कर्णबहादुर सार्की र सोही स्थानका ३० वर्षीय रामबहादुर सार्कीको दुर्घटनास्थलमै मृत्यु भएको जानकारी दिए । घटनास्थलमै मृत्यु भएका अन्य तीनको पहिचान खुलिनसकेको उनको भनाई छ । शनिबार राति करिब १२ बजे ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताएका प्रहरी प्रमुख शर्माले अझै पनि शव र भ्यान घटनास्थमै रहेको जानकारी दिए । भ्यान सडकबाट करिब ९ सय मिटर तल भीरमा खसेको उनले बताए ।
त्यसैगरी, दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।